गृहपृष्ठ भ्रमण वर्ष प्रवर्द्धन गर्न आइस क्लाइम्बिङ फेस्टिभल

भ्रमण वर्ष प्रवर्द्धन गर्न आइस क्लाइम्बिङ फेस्टिभल

नेपाल पर्वतारोहण संघ ((एनएमबी)ले ‘भ्रमण वर्ष २०२०’लाई सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन प्रवर्द्धन र विकासकेन्द्रित कार्यक्रमहरु आयोजना गर्न लागिएको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

संघले आइस क्लाइम्बिङ फेस्टिभल, पर्वतारोहण प्रतियोगिता, विश्व शान्ति पूजा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस आयोजना गर्न लागेको हो । कार्यक्रमहरु आगामी फेब्रुअरी १ देखि सुरु हुने अध्यक्ष लामाले बताए । अध्यक्ष लामाका अनुसार कार्यक्रमको सहआयोजक नेपाल क्लाइम्बिङ टिम (एनसीटी) रहेको छ ।

आईस क्लाइम्बिङ फेस्टिभल फ्रेब्रुअरी १ देखि १० सम्म मनाङको हुम्डेमा सञ्चालन हुने एनसीटीका महासचिव विकास तामाङले जानकारी दिए । उनले भने, ‘विशेष गरेर यो जाडो मौसममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौँ । नेपालमा यो खेल नयाँ हो । त्यसैले नेपाली खेलाडीलाई धेरै संख्यामा सहभागी गराउन सकेनौँ । उचित प्रचारप्रसार भएमा नेपालमा यस खेलको सम्भावना राम्रो छ ।’ उनले प्रतियोगिताको सम्पूर्ण तयारी पनि करिब पूरा भइसकेको बताए ।

पर्यटन पर्वतारोहण प्रतियोगिता फेब्रुअरी १ देखि २ गतेसम्म धुम्बराहीस्थित पासाङ ल्हामु खेल केन्द्रमा सञ्चालन हुने भएको छ । कोरियाली पर्वतारोही पार्क युङ सेयोकको स्मृतिमा आयोजना हुने यस खेलमा सय जना प्रतियोगीलाई सहभागी गराउने आयोजकको लक्ष्य छ ।

भ्रमण वर्षको प्रवर्द्धनका लागि एनएमबीले आयोजना गर्ने अर्को कार्यक्रम विश्व शान्ति पूजा रहेको छ । पोखरामा फेब्रुअरी ३ देखि ५ सम्म सञ्चालन हुने पूजाको उद्देश्य विश्व शान्ति कायम र बौद्ध धर्मको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस पनि फेब्रुअरी ५ मा पोखरामै आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थिति रहने छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनेछन् ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु