गृहपृष्ठ तराई र पहाडका होमस्टेबीच मितेरी साइनो

तराई र पहाडका होमस्टेबीच मितेरी साइनो

संस्कृति र रहनसहन आदानप्रदान गर्ने लक्ष्य

गण्डकीका तीन होमस्टेले तराईका चार होमस्टेसँग मितेरी साइनो गाँसेका छन् । यसबाट हिमाल र पहाडको संस्कृति र रहनसहन आदानप्रदान तथा एकअर्को ठाउँ घुम्नका लागि उत्प्रेरणा जगाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

‘जाऔँ है घुम्नलाई, मितेरी जोडेर सुरु गरौँ भ्रमण वर्षलाई’ भन्ने मूल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकीले मितेरी साइनो गाँस्ने कार्यक्रम अगाडि सारेको हो । कास्कीको पर्यटकीय गाउँ ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टेबीच शुक्रबार मितेरी साइनो गाँसिएका हो ।

त्यस्तै पर्वतको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको खाता जैविक मार्ग होमस्टेबीच पनि यस्तो साइनो गाँसिएको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’लाई प्रवर्द्धन गर्न मितेरी साइनो अभियान अगाडि सारिएका भिटोफले जनाएको छ । गण्डकी प्रदेशबाट मितेरी साइनो जोड्न जाने टोलीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विदाई गरेका थिए । मितेरी अभियानले भ्रमण वर्ष प्रवद्र्धन गर्न उर्जा थप्ने मन्त्री लम्सालले बताए । प्रदेश सरकारले समेत होमस्टे पर्यटनलाई विशेष जोड दिएको उनको भनाइ थियो ।

भिटोफ गण्डकीले ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक तारानाथ पहारीले बताए । उनले भने, ‘खाना र संस्कृतिको आदानप्रदान तथा भूगोलको अनुभवका साथै पर्यटकीय स्थलको जानकारीको लागि मितेरी सम्बन्धले ढोका खोलेको छ ।’  भिटोफ गण्डकीका नवनिर्वाचित अध्यक्ष नवराज अधिकारीले मितेरी सम्बन्ध गाँस्ने कार्यक्रमले भ्रमण वर्षलाई सफल बनाउन टेवा पुग्ने बताए ।

संस्कृति र रहनसहनमा भिन्नता

नेपालमा विभिन्न समुदायको संस्कृति र रहनसहन भिन्नाभिन्नै रहेको छ । हिमाल, पहाड र तराईका विभिन्न जातजातिको आ-आफ्नै रितीरिवाज, चालचलन रहिआएको छ । मितेरी साइनो गाँस्ने कार्यक्रममा दुर्व तर्फका सांस्कृतिहरु प्रस्तुत गरिएको थियो ।

कास्कीको मादी गाउँपालिका- २ स्थित ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको ठाकुरबाबा नगरपालिका- ५ बीच नाता कायम गर्न वडाध्यक्ष क्रमशः एकजंग गुरुङ र गंगाराम जैसीले आपसमा टाउको ठोक्काएका थिए । त्यस्तै वडाध्यक्ष गुरुङलाई गोविन्दपुरका थारु समुदायले सर्ट र धोती लगाइदिए भने ताङतिङका होमस्टे सञ्चालकहरुले वडाध्यक्ष जैसीलाई गुरुङ जातिले लगाउने मौलिक कपडा भांग्रा भिराए । कार्यक्रममा ताङतिङका तर्फबाट गुरुङ भाषाको स्वागत गीतमा नाच देखाइएको थियो भने गोविन्दपुरले थारु भाषामा सोही समुदायको नाच पस्किएको थियो ।

तराइका बासिन्दालाई पर्यटकीय नगरी पोखरामा निम्तो दिँदै चार दिने मितेरी साइनो स्थापित कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु