गृहपृष्ठ स्वदेश फर्कन नपाएका र खर्च सकिएका पर्यटक पाल्दै पोखरा

स्वदेश फर्कन नपाएका र खर्च सकिएका पर्यटक पाल्दै पोखरा

लगानी डुब्ने अवस्थामा पुगेपछि व्यवसायीहरू चिन्तित

पर्यटकीय सहर पोखराको लागि यो मौसम आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने समय हो । तर, महामारीका रुपमा संसारभर फैलिरहेको कोभिड–१९ भाइरसको त्रासका कारण यतिबेला लेकसाइडलगायत पोखराका मुख्य पर्यटकीय क्षेत्रहरु सुनसान छन् ।

प्राय घुइँचो भइरहने लेकसाइडमा अहिले फाटफुट्टमात्रै विदेशी पर्यटक देखिन्छन् । पोखरा भएर पुगिने विभिन्न पदमार्ग पनि यतिबेला सुनसान छन् । भ्रमण वर्षका लागि पर्यटन क्षेत्रमा गरेको अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेपछि व्यवसायीहरु चिन्तित भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले बताए । उनले भने, ‘व्यवसायी र पर्यटन क्षेत्रमा आश्रित भएकाहरुबारे तत्काल सोचेर सरकारले राहत उपलब्ध गराउनुपर्ने हो ।’ उनका अनुसार पोखरामा आउने पर्यटक शतप्रतिशत घटेका छन् ।

सन् २०१९ मा लेकसाइड क्षेत्रका व्यवसायीले धेरै लगानी गरिरहेका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, टे«किङ व्यवसायहरु पनि प्रत्यक्ष प्रभावित बनेका छन् । पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गरेको लगानीसमेत जोखिममा परेको अध्यक्ष भुजेलले बताए ।

पोखरमा अहिले विभिन्न देशबाट आएर स्वदेश फर्कन नपाएका पर्यटकहरु मात्र छन् । विदेशी पर्यटकहरुको प्राय पुरै बुकिङ रद्द भएको व्यवसायीहरुको भनाइ छ ।

अध्यागमन कार्यालय पोखराबाट गत वर्ष फागुन महिनामा ६२२ जना पर्यटकले भिसाको समय थपेका थिए । यस वर्ष फागुन महिनामा ५०२ जना पर्यटकले भिसाको म्याद थपेका छन् । पछिल्लो एक हप्ता अर्थात चैत १ देखि ७ गतेसम्म मात्रै ३१६ जनाले म्याद थपेका छन् । अहिले म्याद थप्नुको मुख्य कारण नै कोरोना भाइरसको महामारी भएको अध्यागमन कार्यालयले जनाएको छ ।

पोखरा अध्यागमन कार्यलयका अधिकृत चेतराज आचार्यले कोभिड–१९ का कारण स्वदेश फर्कन नपाएका पर्यटकसँग थप बसाइका लागि चाहिने खर्च समेत नभएको बताए । उनले भने, ‘मार्च महिना भनेको पर्यटन आगमनको अत्याधिक चाप हुने बेला हो, तर यही समयमा कोरोनाले असर गर्‍यो ।’

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु