गृहपृष्ठ अन्नपूर्ण बेसक्याम्प बन्द, २९ पदयात्री काठमाडाैं पठाइए

अन्नपूर्ण बेसक्याम्प बन्द, २९ पदयात्री काठमाडाैं पठाइए

अन्नपूर्ण बेसक्याम्प (एबीसी) आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने नेपालको प्रमुख पदमार्गमध्ये एक हो । जुन अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द गरिएको छ ।

केही समयअघि हिमपहिरो गएपछि बन्द भएको एबीसी फेरि महामारीको चपेटामा परेको छ । पर्यटकको चाप हुने मुख्य सिजनको बेला पदमार्ग बन्द हुँदा पर्यटन व्यवसायीहरू मारमा परेका छन्  । छोम्रोङ पर्यटन व्यवस्थापन समिति र वडा कार्यलयको सहकार्यमा ११ गते मंगलबार बसेको बैठकको निर्णयबाट अन्नपूर्ण बेसक्याम्प बन्द भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ बताए ।

उनले भने, ‘विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस स्थानीयलाई संक्रमण हुने सम्भावना बढेकाले एबीसी बन्द गराइएको हो । अब आउने जोसुकै पर्यटकलाई पनि यस क्षेत्रमा भित्रिन नदिने निर्णय गरी चेकपोष्ट पनि बन्द गरेका छौं ।’ स्थानीयवासीमा रोग भित्रिन्छ कि भन्ने त्रास बढेको उनले बताए ।

अन्नपूर्ण बेसक्यापबाट २९ जना पर्यटकहरुलाई काठमाडौं पठाइएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले बताए । उनका अनुसार अहिलेसम्म स्की खेल्ने समूहमध्येका ४ जना फर्किन बाँकी रहेको र उनीहरु पनि बेलुकासम्म फर्किने योजना रहेको छ ।

स्की खेल्ने सो टोलीलाई पनि अन्नपूर्ण बेस क्याम्पबाट खबर गरिसकेको उनले बताए । उनले भने, ‘होटल समिति, आमा समूह, क्लब, स्वास्थ्य इकाई चौकी समेतले गरी पाँच लाखको आपकालीन उद्धार कोष तयार गरेका छौं । विपद आइपरेको खण्डमा स्थानीयसँगै पर्यटक व्यवसायीलाई पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’

कोरोनाको कारण अहिले एक्यापले पनि प्रवेशमा रोक लगाएको छ । यो बेला पदयात्रीको लागि अन्नपूर्ण बेसक्याम्प (एबीसी) उपयुक्त मानिन्थ्यो तर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले व्यवसायी चिन्तित भएका छन् ।

उनीहरुका अनुसार कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा करौडौंको नोक्सानी भएको छ ।सिजनको सुरुवाती नै चैत्र महिना हो । अन्नपूर्ण बेसक्याम्पमा अहिले ८० वटा होटल सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु