गृहपृष्ठ प्याराग्लाइडिङ सञ्चालनको तयारी हुँदै, आन्तरिक पर्यटकलाई सहुलियत दिइने

प्याराग्लाइडिङ सञ्चालनको तयारी हुँदै, आन्तरिक पर्यटकलाई सहुलियत दिइने

कोरोना महामारीका कारण झण्डै ६ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ आगामी असोज १५ देखि सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक हवाइ उडान सुरु गरेसँगै असोज ५ बाट प्याराग्लाइडिङको पनि परीक्षण भइरहेको छ ।

प्याराग्लाइडिङ खोल्ने निर्णय भए पनि लामो समयसम्म लकडाउनका कारण कतिपय पाइलटका लाइसेन्स, बिमा अद्यावधिक गर्ने लगायतका प्राविधिक कामहरु नभएकाले सञ्चालनमा ढिलो भएको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लगाएका छौं । यसका लागि प्याराग्लाइडिङमा सामाजिक दुरी भन्ने हुँदैन । सुरक्षाका निश्चित मापदण्ड अपनाएर परीक्षणकालमा रहेको छौं,’ उनले भने ।

प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेको व्यवसायीहरुको भनाइ छ ।

आन्तरिक पर्यटकहरुको माध्यमबाट नै प्याराग्लाइडिङ क्षेत्रमा सुधार गर्न सकिने अध्यक्ष भण्डारीले बताए । ‘पोखरामा स्वभावै रुपले पनि आन्तरिक पर्यटकहरु घुम्न आउने, रमाउने ठाउँ हो । यसका लागि सम्पूर्ण गतिविधि होटेल, पसल, रेष्टुरेन्ट सबै खुला हुने र पोखरामा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित हिसाबमा पोखरा सञ्चालन भएको छ भन्ने सन्देश दिन खोजेका छौं,’ उनले भने, ‘पोखरा पर्यटनसँग आवद्ध सम्पूर्ण संस्थाहरुले यही सोच बनाएर अगाडि जाने भन्ने एक किसिमको सल्लाह भएको छ ।’

आन्तरिक पर्यटनलाई जोड दिने र उडानका विषयमा केही सहुलियत दिएर ‘यो बेला उड्नुपर्छ, यो हाम्रो अवसर हो’ भन्ने भावना पर्यटकहरुमा जागृत गराउनु अहिले चुनौती रहेको हवाइ खेलकुद व्यवसायीहरु बताउँछन् । यो लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरेको कम्पनीहरुले करिब ५० करोडको घाटा व्यहोर्नुपरेको नाका महासचिव बलराम आर्चायले बताए ।

अहिले प्याराग्लाइडिङ पोखराको प्रमुख पर्यटकीय आधार भइसकेको छ । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिल तीन सयभन्दा बढी नेपाली पाइलट छन् । अहिले दैनिक ६ सयभन्दा बढी प्याराग्लाइडिङको उडान हुने गरेको छ । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु