गृहपृष्ठ गोठीकाँडा पैदलमार्गले ब्युँझाउँदै सुर्खेतको पर्यटन
गोठीकाँडा पैदलमार्गले ब्युँझाउँदै सुर्खेतको पर्यटन
कुनै समय गोठीकाँडा दैलेखी, अछामीलगायत जिल्लाका किसानको गोठ राख्ने ठाउँ थियो, हाट जाने हटारुहरूको मूल बाटो पनि । अहिले उक्त क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ । आन्तरिक पर्यटक बढ्न थालेपछि कर्णाली प्रदेश र स्थानीय सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेका छन् ।
वि.सं. २०२३ सालतिर वीरेन्द्रनगर नगरपालिकाको खोर्के लाइन हुँदै तत्कालीन गढी गाउँ पञ्चायत वडा नम्बर ४ हाल वीरेन्द्रनगर १४ गोठीकाँडामा निस्किने पैदल यात्रीहरूको लर्को हुन्थ्यो । हाट जाने हटारु, गोठीकाँडाबाट दोभान चौर (वीरेन्द्रनगरमा) खेती गर्न आउने किसान र गोठेरी राख्नेहरू त्यही बाटो भएर ओहोरदोहोर गर्थे । भोटबाट भोटेहरूसमेत त्यही बाटो भएर आवतजावत गर्थे ।
यो ठाउँमा अहिले कर्णाली प्रदेश सरकारले पैदलमार्ग निर्माण गर्दै छ । जुम्ला, हुम्ला, मुगु, कालिकोट र दैलेखीहरू नेपालगन्जलगायतका सहरमा किनमेल गर्न र पढ्नका लागि समेत जाँदा पैदल यात्रा गर्ने गोरेटो, प्रदेश सरकारको पहलमा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । यो गोरेटो २०५० सालतिर सुर्खेत–दैलेख सकडखण्ड निर्माण भएर सवारीसाधन सञ्चालनमा आएदेखि चहलपहलविहीन बनेको थियो ।
२०२३ सालपहिले सुर्खेतको सदरमुकाम रहेको गोठीकाँडामा मानव बस्ती भए पनि वीरेन्द्रनगर उपत्यका भने खेतीयोग्य जमिनका रुपमा प्रयोग हुने गरेको बूढापाका बताउँछन् । चौधरी बस्तीबाहेक औलो लाग्ने डरले त्यसबेला वीरेन्द्रनगरमा कोही पनि बस्दैनथे । खेती-किसानको काम सकेर कसैले गोरु यतै छोड्थे त कोही गोरु लिएर गोठीकाँडातिर बास बस्न जान्थे ।
भैरवस्थानदेखि गोठीकाँडासम्म करिब चार किलोमिटर पर्ने उक्त गोरेटोमा राज बिसौनी, साझ गोठेरी, गोरु गोठेरी, धर्मशाला, भड्डु घोप्टे र छेलो हान्ने जस्ता ठाउँका नाम छन् । ती नामले पनि आ-आफ्नै विशेषता बोकेका छन् ।
गोठीकाँडा नाम रहनुमा पनि छुट्टै कारण छ । दैलेख, अछामलगायत जिल्लाका पशुपालक किसानले त्यहाँ गाई-भैँसी, खसी-बाख्रा र भेडा ल्याएर गोठ राख्ने गरेकाले गोठीकाँडा नाम रहन गएको स्थानीय सुरेशकुमार (एसके) भट्ट बताउँछन् ।
गोठीकाँडामा रहेको सुर्खेत उपत्यका सदरमुकाम २०२४ सालमा वीरेन्द्रनगर नगरपालिका (दोभान चौर) मा सरेपछि २०२५ सालमा भट्टको परिवारसमेत वीरेन्द्रनगर बसाइँ सरी आएको थियो । औलोको डरले धेरैले वीरेन्द्रनगर बसाइँ सर्न डर माने पनि आफ्नो परिवारले आँट गरेको उनले बताए । ‘मेरो बुवा, हजुरआमा सबै शिक्षक हुनुहुन्थ्यो, शिक्षित परिवार भएकाले बुवा-हजुरबुवाले अलिकता हिम्मत जुटाउँदै समाजका लागि बाटो समेत देखाउनुभयो,’ ६० वर्षीय भट्टले भने ।
२०२९ सालमा वीरेन्द्रनगर नगरपालिका स्थापना भएपछि नगरको विस्तारै विकास हुन थालेको र गोठीकाँडासहित दैलेख, कालिकोटबाट मानिसहरू बसाई सरेर आउन थालेको उनले बताए । त्यस्तै २०३४ सालमा दैलेखको लेखतोलीबाट वीरेन्द्रनगर ४ भैरवस्थान खोर्केमा बसाइँ सरी आएका ७८ वर्षीय तिलाराम चालिसेले सुर्खेत-दैलेख सडकखण्ड सञ्चालनमा आएपछि उक्त गारेटो चहलपहलविहीन भएको स्मरण गरे ।
चालिसेको आँगनमै पैदलमार्ग पर्छ । झन्डै दुई दशकदेखि सुनसान भएको गोरेटो अहिले पैदलमार्गको रूपमा विकास भएपछि उनी दंग छन् । ‘दैलेखबाट बसाइँ सरेपछि धेरै हटारुलाई मैले भात खुवाएँ,’ उनले भने, ‘दैलेख, जुम्ला, हुम्ला र कालिकोटका मानिस यो बाटो हिँड्थे ।’ उनी वनको नजिक भैंसीपालन गर्न दैलेखबाट बसाइँ सरेर आएका हुन् ।
गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा र गढीको विशेषता
हालको वीरेन्द्रनगर १४ गोठीकाँडा दैलेख, अछामलगायतका भैँसीपालक किसानले गोठ राख्ने ठाउँ हो । यो क्षेत्र सुर्खेत उपत्यकाको नगरकोटसमेत भनेर चिनिन्छ । वीरेन्द्रनगरको गर्मी छल्न, चिसो मौसमको अनुभूति गर्न र वीरेन्द्रनगरको सुन्दर भ्याली नियाल्दै स्थानीय परिकार खान यो ठाउँ उपयुक्त मानिन्छ । बालबालिका, युवायुवतीदेखि जेष्ठ नागरिकहरूसमेत गोठीकाँडा घुम्न जाने भनेपछि हुरुक्कै हुन्छन् ।
गोठीकाँडाआसपासमै रहेको बयलकाँडाको आफ्नै विशेषता छ । सुदूरपश्चिमेली भाषामा बयल भनेको हावा हो, बढी हावा लाग्ने डाँडा भएकाले बयलकाँडा ठाउँको नाम रहेको स्थानीयवासी बताउँछन् । बयलकाँडामा गढ अर्थात् बान्नो छ, जसलाई गढी भनेर चिनिन्छ । बहादुर शाहको पालामा १८४८ सालमा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुद्री सतहदेखि एक हजार पाँच २२ मिटर उचाइमा छ ।
गढी आफैँमा इतिहास बोकेको स्थल हो । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखसँगै सुर्खेतमा पनि गढी बनाइएको हुनसक्ने इतिहासकारहरूको अनुमान छ । त्यहाँ उत्खनन गरे केही ऐतिहासिक प्रमाण फेल पर्नसक्ने सम्भावना छ । स्थानीय बूढापाकाका अनुसार त्यस क्षेत्रमा पहिले वरिपरि ढुंगाको पर्खाल र सेनाले लुकेर गोली हान्न बनाइएका पर्खालमा प्वाल देखिने गरे पनि अहिले सबै पुरिँदै गएका छन् ।
बयलकाँडानजिकै रहेको राम्रीकाँडाको पनि आफ्नै इतिहास छ । राम्री भनेको राम-रमाइलो भन्ने अर्थ लाग्छ । पहिले राम्रीकाँडामा दसैँको कोजाग्रत पूर्णिमामा जात्रा लाग्ने गरेको स्थानीय एसके भट्टले जानकारी दिए । अहिले इतिहास मेटिँदै गएको उनको गुनासो छ ।
प्रदेश सरकारको प्रयास
वीरेन्द्रनगर नगरपालिकामा पर्ने गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लकाँडा र गढी पर्यटकीय क्षेत्र हुन् । आ-आफ्नै इतिहास बोकेका यी ठाउँको संरक्षणमा प्रदेश तथा स्थानीय सरकार लागेको देखिन्छ ।
कर्णाली सरकारले गोठीकाँडा पैदलमार्ग निर्माण गर्दै छ । पुर्खाले हिँडेको गोरेटो अहिले पैदलमार्गको नाममा पर्यटकीय क्षेत्र बन्न लागेको हो । पैदलमार्गका लागि कर्णाली प्रदेशको पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा ८० लाख रूपैयाँ बजेट व्यवस्था गरेको थियो । सो रकमबाट डिभिजन वन कार्यालय सुर्खेतले करिब एक किमी पैदलमार्ग बनाएको प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार अहिले वीरेन्द्रनगर ४ खोर्केबाट पैदलमार्ग निर्माणको काम भएको छ । सोलिङ, ढलान, सिँढी र टायल राख्ने काम सकिएको छ भने रेलिङको काम बाँकी छ ।
उक्त पैदलमार्ग १.५ मिटर चौडाइमा निर्माण भएको उनले बताए । उक्त योजनालाई सरकारले क्रमागत योजनाअन्तर्गत राखेको छ । पैदलमार्ग छेडासम्म निर्माण गरिने र करिब ३५ सय मिटरभन्दा बढी लामो हुने उनले जानकारी दिए ।
पैदलमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले पैदलमार्ग निर्माणले सुर्खेतमा पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने बताए । निर्माणकै क्रममा रहेको पैदलमार्गमा हिजोआज बिहानको समयमा सय जनाभन्दा बढी आउने गरेको उनले जानकारी दिए । ‘पैदलमार्ग सम्पन्न भएपछि स्थानीयको व्यापार बढ्छ, सरकारलाई राजस्व र नागरिकलाई घुम्ने राम्रो स्थान बन्छ,’ उनले भने ।
गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लाकाँडा र गढीको ऐतिहासिक महत्व बुझ्न र उक्त क्षेत्रबाट वीरेन्द्रनगर भ्यालीलगायत सुर्खेत जिल्लासँग जोडिएका अन्य रमणीय स्थानसमेत हेर्नका लागि पर्यटक आउने उनको ठम्याइ छ । यसका लागि उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे जानकारी गराउनुपर्ने सिंहले बताए ।
सहिदको सम्झनामा पार्क
पैदलमार्ग निर्माण सुरु भएकै ठाउँमा प्रदेश सरकारले प्रादेशिक सहिद पार्क र बोटानिकल गार्डेन निर्माण गर्दै छ । वीरेन्द्रनगर ४ भैरवस्थानको भंगेरी चौरमा पर्यटन मन्त्रालयले विनियोजन गरेको बजेटमा वन तथा वातावरण निर्देशनालयले खर्च गर्नेगरी करिब १ करोड ५० लाखमा प्रादेशिक सहिद पार्क तथा बोटानिकल पार्क निर्माण गर्न लागिएको सहायक वन अधिकृत सूर्य शर्माले जानकारी दिए ।
बहुवर्षीय योजनाको उक्त पार्कको डिपिआरमा ८ करोड लागत भए पनि हालसम्म स्तम्भ, पोखरी, गार्डेन र पर्खाल र गेटमा गरी २ करोड २७ लाख रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । उनका अनुसार पार्क निर्माणको काम दुईवटा प्याकेजमा भइरहेको छ ।
पर्खाल र गेटको न्यु विशाल कन्ट्रक्सन वीरेन्द्रनगरले जिम्मा लिएको छ । एक करोड १२ लाखको टेन्डरमा ७७ लाखमा काम सम्पन्न गर्नुपर्ने ठेकेदार हेमकर्ण थापाले जानकारी दिए । उनका अनुसार ३३० मिटरको पर्खाल र गेट निर्माणको काम मंसिरसम्म काम सक्ने तयारी छ ।
सहिद पार्कमा स्तम्भ, पोखरी, गार्डेनलगायतका संरचनाको लागि अभियान निर्माण सेवा कालिकोटले जिम्मा लिएको छ । ठेकेदार रमेश मल्लले असार मसान्तसम्ममा काम सक्नेगरी जिम्मा पाएको भए पनि कोरोना संक्रमणको कारण काम नसकिएकाले कात्तिक मसान्तसम्म म्याद थप भएको जानकारी दिए । उनले उक्त कामका लागि १ करोड १३ लाख बजेटमा सम्झौता भएको बताए ।
पर्यटकीय स्थल बन्दै जिरो ड्याम
वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतको खोर्केखोलामा २०४५ सालमा सिँचाइ योजनाको बाँध बाँधिएको थियो । विगतमा उक्त क्षेत्रमा नजिकका पायक पर्नेहरू नुहाउन र पौडी खेल्न जाने गर्दै आए पनि उक्त बाँधमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । जिरो ड्यामका नामले परिचित उक्त क्षेत्र बन्दै गरेको प्रादेशिक सहिद पार्क र पैदलमार्गभन्दा एक किलोमिटर टाढा पर्छ ।
बाँधबाट झरेको पानी झरना जस्तै बन्ने भएकाले पर्यटक बढ्दै गएपछि पार्क र सार्वजनिक शौचालय निर्माण गरेको वडा नम्बर ४ का अध्यक्ष नीलकण्ठ खनालले जानकारी दिए । उनले मानिसहरु पहिले पनि आउने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोग बढेकोले जिरो ड्याम आउने पर्यटकसमेत बढेको बताए ।
२०१८ सालमा गोठीकाँडामा भएको संयुक्त आन्दोलन

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम साविकको गढी गाउँपञ्चायत (पछि गाउँ विकास समिति) वडा नम्बर ४ गोठीकाँडामा पर्थ्यो । त्यो समयमा वीरेन्द्रनगर चौहान चौरका नाममा चिनिएको थियो । तर, अहिले दोभानचौर भनेर पढ्न पाइन्छ, त्यो बिल्कुल गलत हो । भेरी र कर्णालीको दोभान भएकोले दोभानचौर भनिएको भन्ने तर्क गरिए पनि त्यो क्षेत्र सुर्खेतको पश्चिमी क्षेत्र कुइनेमा पर्छ ।
वि.सं. २०१८ सालमा त्यसबेलाका सरकारविरुद्ध कांग्रेस र कम्युनिस्ट पार्टीको सहभागितामा संयुक्त आन्दोलन भएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रद्वारा कलिलो प्रजातन्त्रको घाँटी निमोठिएपछि २०१८ सालमा कांग्रेसको नेतृत्वमा सुर्खेत जिल्ला सदरमुकाम गोठीकाँडामा सशस्त्र आक्रमण भयो । जमिनदारहरूको भागाभाग भयो । प्रशासनिक अड्डाहरू कब्जा भए ।
कम्युनिस्टबाट स्थानीय बासिन्दाको तर्फबाट आन्दोलनको अगुवाइ मेरा बुवा मदन शर्मा (भट्ट)ले गर्नुभएको थियो । बुवा पेसाले शिक्षक हुनुहुन्थ्यो । संगठनिक हिसाबले दैलेखका भवानीप्रसाद शर्माले आन्दोलनको अगुवाइ गर्नुभएको हो । वीरेन्द्रनगर उपत्यकाका जति पनि पुराना शिक्षित व्यक्तित्व हुनुहुन्छ, प्रायः मेरा बुवाले नै अध्यापन गराएकामध्ये हुनुहुन्छ ।
आन्दोलनका क्रममा लीलाधर गौतम, शशीलाल रानालगायत गिरफ्तार पर्नुभयो । तत्कालीन सरकारले गौतमलाई धेरै यातना दिएर खुट्टा भाँचिदिएको थियो । मेरो बुवा गिरफ्तार नपरी भाग्न सफल हुनुभयो । गोठीकाँडामा रहेको त्यो बेलाको शिलालेख आईजीपी कार्यालय सुर्खेतमा राखिएको छ । जनमावि पब्लिक हाइस्कुल पहिले गोठीकाँडामा थियो । पछि उपत्यका तल झरेसँगै विद्यालय पनि सरेको हो ।
अहिलेको भैरव माविसमेत मेरो हजुरआमा पूर्णावती भट्टले कन्या पाठशालाका नाममा स्थापना गर्नुभएको हो । गोठीकाँडामा भैरव मन्दिर थियो । माथिको बस्ती तल झरेपछि मन्दिर पनि यतै निर्माण भयो, त्यसैले उक्त क्षेत्रलाई भैरवस्थान भनिएको हो, त्यहाँ अहिले पनि भैरवको मन्दिर छ । प्रदेश सरकारले निर्माण गर्दै गरेको पैदल मार्गमा तिब्बतमा चीनले हस्तक्षेप गर्दा त्यहाँका धार्मिक नेता दलाइ लामाका अनुयायीसमेत यही मार्ग हुँदै आएको मैले बूढापाकाका मुखबाट सुनेको हुँ ।
प्रकाशित समय १३:५३ बजे


















