गृहपृष्ठ लगानीका लागि नेपाल उर्वर भूमि : पाटा नेपाल
लगानीका लागि नेपाल उर्वर भूमि : पाटा नेपाल
चीनको ग्वाङ्जाओमा अक्टुबर २४ देखि २६ सम्म आयोजित २१औँ शताब्दी समुद्री सिल्क रोड एक्स्पो २०१८ मा पाटा नेपालले सहभागिता जनाएको छ । विश्वभरका ४६ मुलुकबाट आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको एक्स्पोमा नेपाल डेलिगेसनको अगुवाइ पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।
एक्स्पोमा नेपाली टोलीअन्तर्गत पाटा नेपालका पदाधिकारीहरु सुनिल शाक्य (अध्यक्ष), सुमन पाण्डे (निवर्तमान अध्यक्ष), लीलाधर भण्डारी (वैकल्पिक सदस्य) सहित कर्णाली प्रदेशका सरकारी पदाधिकारीसहित १९ जनाले सहभागिता जनाएका छन् ।
कार्यक्रममा अक्टुबर २५ र २६ तारिखका दिन ‘बेल्ट एन्ड रोड ग्रिन इन्डस्ट्रिअल इन्टिग्रेसन फोरम’मा हरित वाणिज्य, पर्यटन, सांस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजनसम्बन्धी महत्वपूर्ण विषयमा छलफल भएको थियो । छलफलमा पाटा नेपाल च्याप्टरका अध्यक्ष शाक्यले नेपाल लगानीका लागि उर्वर स्थल भएको बताए ।
उनले ‘द बेल्ट एन्ड रोड’को पहलले नेपालको विकासमा पु¥याउने योगदानबारे उल्लेख गर्दै वर्तमान परिप्रेक्ष्यमा नेपालको पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको धारणा राखे । अध्यक्ष शाक्यले पर्यटनसँग सम्बन्धित एयरपोर्ट, एयरफिल्ड, कार्गो टर्मिनल, एयर करिडोर, हाइवे, डिलक्स होटल, रिसोर्ट, क्यासिनो, सपिङ मल, थिम पार्क, लक्जरी तथा विद्युतीयलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ प्रतिनिधि तथा सरोकारवालालाई आग्रह गरे ।
चिनियाँ सरकारद्वारा प्रस्तावित ‘द बेल्ट एन्ड रोड’को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सवलीकरण तथा माइस टुरिजमको विकासमा ठूलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए ।
प्रकाशित समय १८:०२ बजे

















