गृहपृष्ठ तिलोत्तमाका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटकको ओइरो
तिलोत्तमाका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटकको ओइरो
सरकारले मुलुकभरिका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गर्यो । जसमा रुपन्देहिस्थित तिलोत्तमा नगरपालिकाका दुई पर्यटकीय क्षेत्र समावेस छन् । ति मध्ये नयाँ पर्यटकीय गन्तव्यको सूचीमा तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा पछिल्लो समयमा आन्तरिक तथा वाह्यक पर्यटकहरुको गन्तव्यको रुपमा विकास भएको छ ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले पछिल्लो समय खासगरी पिकनीक स्पोर्टको रुपमा वन बाटिका प्रख्यात भएको बताए । अहिले उक्त क्षेत्रमा विभिन्न आर्कषक वाल उद्यान निर्माण गरिएको छ भने संघ संस्थाको सहकार्यमा पार्क समेत निर्माण गरिएको छ । अध्यक्ष अर्याल भन्छन्, ‘प्रदेश ५ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी कार्य अगाडि बढाएका छौं ।’
भ्युटावर निर्माणको क्रममा रहेको जानकारी दिँदै उनले निर्माणपछि अझ यसले गती लिने बताए । तिलोत्तमा नगरपालिकामा पर्ने बाउन्नकोटी सामुदायिक वन पनि नयाँ गन्तव्यको रुपमा सरकारले छनौट गरेको थियो । मन्त्रिस्तरीय निर्णयबाट नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएकोमा सञ्चालक समिति पनि उत्साहित भएको छ ।
छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको बताइन्छ । वनवाटिकामा गत वर्ष झण्डै डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक अवलोलन तथा भ्रमणका लागि आएका थिए ।
पूर्व–पश्चिम राजमार्गदेखि करीब १ किलोमिटरभित्र घना बस्तीछेउ शंकरनगर सामुदायिक वन छ । वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षरोपण क्षेत्रलाई २०६२ वर्षअघिदेखि व्यवस्थित गरी वन बिहार तथा अनुसन्धान केन्द्र बनाइएको हो ।
केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थल लगायत बनाइएको छ । पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी चिडियाखाना व्यवस्थित गरिएको छ ।
चितुवा, मृग, नीलगाई, अजिंगर, भालु, खरायो, चाइनिज मुसा, मयूर सारस लगायत दुई दर्जन प्रजातिका पशुपक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको बाटिकामा वनभोज खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।
विवाह, वनभोज, शुभकार्य र सांगीतिक कार्यक्रमका लागि आउनेको संख्या धेरै छ । साँझ–बिहान योग तथा ध्यान गर्न जानेको दिनहुँ लर्को लाग्छ । यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटक संख्या पनि बढेको छ । शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा अहिले तिलोत्तमा भ्यूटावरको निर्माण तीव्र गतिमा भइरहेका छन् ।
वनबाटिका क्षेत्रमा रहेको रोटरी चाइल्ड डेभलपमेन्ट रिसर्च सेन्टरमा करिब ५० लाख रुपैयाँको लागतमा टोय ट्रेन सञ्चालन हुन लागेको हो । रोटरीले सन् २०११/१२ देखि वनबाटिकामा लगानी गरिरहेको छ । टोय ट्रेन सञ्चालनका लागि संरचना तयार गर्न सकिने बताएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वनबाटिकाभित्र १० तले भ्यूटावर निर्माणका क्रममा रहेको र टोय ट्रेनसमेत सञ्चालनमा आएपछि पर्यटक आगमनले फड्को मार्ने बताए ।
१४ करोड लागतमा वनबाटिकामा २ कठ्ठा क्षेत्रफलमा १ सय ३३ फिट अग्लो भ्यूटावर बन्दैछ । घिमिरेले वनबाटिकालाई प्रदेश ५ कै आकर्षक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित नगरपालिका अघि बढेको बताए । टोय ट्रेनमा बालबालिकासँगै उनीहरूका अभिभावकसमेत चढ्न सक्नेछन् । वनबाटिकामा वार्षिक करिब २ लाख पर्यटकको आगमन हुने गरेको छ ।
प्रकाशित समय १७:४५ बजे