गृहपृष्ठ बुटवलमा बन्दैछ गौरवशाली धरोहर
बुटवलमा बन्दैछ गौरवशाली धरोहर
जितगढी किल्लाले बोक्ने छ उजिरसिंह थापा र नेपालकै ठूलो राष्ट्रिय झण्डा
तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरिएको स्थान बुटवलको ऐतिहासिक सम्पदा जितगढी किल्लालाई महत्वपूर्ण धरोहरका रुपमा विकास गरिने भएको छ । यसका लागि बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाएर काम अगाडि बढाएको छ ।
उपमहानगरपालिकाले यहाँ नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने भएको छ । नेपाली फौजले साम्राज्यवादी अंग्रेज फौजलाई धुलो चटाएको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्ने भएको हो ।
अहिले उत्तरतर्फ फर्केको उजिरसिंहको अर्धकद शालीक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको शालीक बन्ने उपमहानगरले जनाएको छ । शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फहराइने छ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । यो कामको शिलान्यास शुक्रबार नै भइसकेको छ ।
नगर प्रमुख शिवराज सुवेदीले जितगढीलाई राष्ट्रियताको प्रतीक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताए । यहाँको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न स्थानीयबासीलाई उनले आग्रह पनि गरे ।
शालीक र राष्ट्रिय झण्डाको टावर निर्माण गर्न उपमहानगरले हेभेन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको छ । दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । शालीक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए ।
बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालीकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इट्टाजस्तै देखिने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।
जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्याएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले जानकारी दिए ।
जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताए ।
वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।्
हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी अगुवा रविन्द्रगोपाल लाकौलले बताए ।
वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताए । । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ । जितगढीको विकासका लागि प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन् ।
प्रकाशित समय १९:५५ बजे


















