गृहपृष्ठ शिक्षकको व्यवस्था नहुँदा प्रयोगमा आएन कम्प्युटर

शिक्षकको व्यवस्था नहुँदा प्रयोगमा आएन कम्प्युटर

महोत्तरीको भंगाहा नगरपालिका-५ स्थित माध्यमिक विद्यालय भंगाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटरको प्रयोग हुन सकेको छैन । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।

विगतमा विद्यालय आफैंले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा दुई वर्षअघिदेखि थन्किएर रहेका छन् । प्रयोगमा नआएर थन्किदा सबैजसो कम्प्युटर अब ‘कवाड’ बन्ने डर बढेको विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले चिन्ता व्यक्त गरे ।

विद्यालयको पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेका भंगाहा-४ का बासिन्दा स्थानीय अभिभावक गोविन्द खाँ थारू बताउँछन् । शिशु (बाल) कक्षादेखि १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा कम्प्युटर काम नलाग्ने स्थितिमा पुगेको प्रधानाध्यापक यादवको स्वीकारोक्ति छ ।  विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ का विद्यार्थीको संख्या १६० रहेको छ ।

विद्यालयका कक्षा ८ माथिका विद्यार्थीले दैनिकजसो नै कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउँछन् । नगर प्रमुख सञ्जीवकुमार साह भने नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताउँछन् । (रासस)

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु