गृहपृष्ठ धनगढीमा आरटी पीसीआर मेसिन जडान सुरु
धनगढीमा आरटी पीसीआर मेसिन जडान सुरु
मेसिन लिएर धनगढी आइपुगेको सेनाको स्काइ ट्रक।
धनगढीमा एकै पटकमा धेरै जनाको कोभिड- १९ को नमूना परीक्षण गर्न मिल्ने ‘आरटी पीसीआर मेसिन’ जडान सुरु भएको छ । संघीय सरकारले पठाएको सो मेसिन धनगढीस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मेसिन राख्न लागिएको हो ।
बुधबार सेनाको स्काई ट्रकमार्फत धनगढीमा एक थान आरटी पीसीआर मेसिन ल्याइएको हो । सो मेसिनमार्फत एक पटकमा ९६ वटा नमूना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले बताए ।
एक पटकका लागि ३ देखि ४ घण्टा समय लाग्न सक्ने भएकाले जनशक्ति पर्याप्त भए कम्तीमा दिनको २ पटक परीक्षण गर्न सकिने उनले जानकारी दिए । प्रयोगशाला तयार भइसकेपछि यहीँको जनशक्तिलाई तालिम दिइने उनले बताए । जनशक्तीलाई तालिम दिइने उनले जानकारी दिए । उनका अनुसार सकभर बिहीबार साँझ, नभए शुक्रबार बिहानबाट परीक्षण सुरु हुनेछ ।

केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एउटा धनगढी पठाइएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेसिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ । योभन्दा अघि चीनबाट ल्याइएको मेसिनबाट दिनमा ४ वा ५ वटा मात्रै नमूना परिक्षण भइरहेको थियो । नमूना परीक्षण सुस्त भएपछि बढी क्षमताको प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
प्रकाशित समय १६:५१ बजे
















