गृहपृष्ठ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका तीनवटै छाता संगठनले निराशा व्यक्त गरेका हुन् ।

नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको भिडियो कन्फ्रेन्समा निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् । कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणपछि शिथिल बनेको अर्थतन्त्रलाई तत्काल उपयुक्त राहत प्याकेज ल्याउन जरुरी भए पनि त्यसतर्फ ध्यान नदिए पनि नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिनु सकरात्मक पक्ष भएको उनीहरुले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाभाइरसले तत्काल देखाएको असरलाई सम्बोधन गर्ने गरी कार्यक्रम केन्द्रित नभएको बताए । स्टीमुलस प्याकेज ल्याउन सरकारले ध्यान बताउँदै गोल्छाले भने, ‘तरलता व्यवस्थापन अहिलको मुख्य चुनौती हो, अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागिआन्तरिक र बाह्य ऋण लिने विषयमा कुनै कुरा नै आएन भने पुनर्कर्जा, व्याज घटाउने र श्रमिकको पारिश्रमिक व्यवस्थापनमा सरकार मौन नै देखियो ।’

यद्यपि उनले १३ दिनपछि आउने बजेटले केही सम्बोध नगर्ने अपेक्षा राखिएको बताए । स्वास्थ्यमा लगानी, कृषिलाई व्यवसायीकरण गर्ने, बाँझो जमिनमा खेतीगर्ने र रोजगारी लगायतका विषय भने स्वागत योग्यभएको उनले तर्क गरे । अब बजेटमा स्टीमुलस प्याकेज ल्याउनुपर्ने, भारतमा निर्यात गर्दा ५ प्रतिशत र अन्य तेस्रो मुलुकमा निर्यात गर्दा १० प्रतिशत सरकारले सहुलियत दिनुपर्ने, डिमाण्ड चार्ज छुट हुनुपर्ने र पारिश्रमिकका विषय सम्बोधन हुनुपर्ने सुझाव उनको छ । उनले निजी क्षेत्रले आफ्नो स्वार्थका लागि सरकारसँग राहत नमागेको पनि दाबी गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ राजेन्द्र मल्लले सरकारले निजी क्षेत्रका लागि ल्याउने राहतका विषयमा स्पष्ट नभएको बताए । यस्तै उनले नीति तथा कार्यक्रमले सम्बोधन नगरे पनि अब आउने बजेटमार्फत सम्बोधन हुने अपेक्षा राखे ।अबको विषम परिस्थितिबाट अर्थतन्त्रलाई उकास्नका लागि सरकारले आन्तरिक उत्पादन वृद्धि, सरकारी खर्च घटाउनुपर्ने, धेरै पारिश्रमिक लिने प्रमुख कार्यकारी अधिकृतहरुको पारिश्रमिक कटौती गर्नु पर्ने, किसानले लिएको ऋणको ब्याज ६ महिनासम्म असुली गर्न नहुने विषयहरुमा सरकारले ध्यान दिन आवश्यक भएको मल्लले बताए ।

यसैगरी उनले विदेशबाट आएकालाई उनीहरुले सिकेको सीपलाई उच्चतम प्रयोग गर्नका लागि विमानस्थलमै तथ्यांक संकलन गर्ने कार्य सुरु गर्नुपर्ने धारणा राखे । एग्रो टुरिज्मलाई प्राथमिकता दिनुपर्ने बताउँदै मल्लले भने, ‘अहिले सञ्चालनमा आएका एयरलान्सलाई मर्जरमा लैजान र नेपालका लागि होटेल तथा रिसोर्ट कति आवश्यकता हो भन्ने विषयको पनि मुल्यांकन हुन जरुरी छ, अहिले यो पेशा फेसनजस्तै भएको छ ।’

यसैगरी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले पनि नीति तथा कार्यक्रमले सम्बोधन नगरेका विषयहरु बजेटले सम्बोध नगर्ने अपेक्षा राखेको बताए । उनले सरकारी फजुल खर्च घटाएर पुँजीगत बजेट तथाखर्च बढाउन पनि सरकारलाई सुझाव दिए । उनले भने, ‘कुल गार्हथ्य उत्पादन (जीडीपी)को ५ प्रतिशत स्टीमुलस प्याकेज माग गरिएको भए पनि नीति तथा कार्यक्रममा स्पष्ट छैन, उत्पादन मुलक क्षेत्र तथा उद्योगहरुलाई संरक्षण गर्न सकिएन भने मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने भएकोले सरकारले पनि उद्योग व्यवसाय जोगाउनका लागि योगदान गर्नुपर्छ ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरे । ५३ बुँदामा सरकारलाई सुझाव दिए पनि केहीमात्र समेटिएको र सम्बोधन पर्याप्त नभएको उनले बताए । साना तथा मझौला उद्योगका लागि सरकारले ल्याएका केही कार्यक्रम भने सकरात्मक भएको उनको भनाइ छ । सरकारले उद्यम गर्नका लागि सीड मनी उपलब्ध गराउने, उद्यमशील नागरिक बनाउने लगायतका विषयहरु सकरात्मक भएको उनले बताए ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु