गृहपृष्ठ कालापहाड कहर : संक्रमितमध्ये अधिकांश युवा
कालापहाड कहर : संक्रमितमध्ये अधिकांश युवा
जेठ २२ गते संक्रमण पुष्टि भएका ११४ मध्ये १०१ जना युवा
कर्णाली प्रदेशका अधिकांश नागरिक भारतमा रोजगारी गरेकै भरमा गुजारा चलाउँछन् । त्यसमा पनि युवा जनशक्तिहरु अत्याधिक संख्यामा भारत जान्छन् । यसरी कामका लागि भारत जानुलाई स्थानीयले ‘काला पहाड जानु’ भन्छन् । पछिल्लोसमय विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले समेत युवा उमेर समूहकालाई नै पछ्याएको छ । यसको एउटै प्रमुख कारण हो, संक्रमित देश भारतबाट कर्णाली फर्कनेहरू अधिकांश युवा उमेर समूहका हुनु । भारतमा कोरोना संक्रमण अत्याधिक बढ्न थालेपछि स्वदेश फर्किएका कर्णालीका युवासँगै कोरोना संक्रमण पनि भित्रिएको छ ।
यसरी कर्णाली फर्कने युवाहरुको संख्या ३५ हजार बढी छ । जसमा सोमबारसम्म ६ सय ५७ जनालाई संक्रमणको पुष्टि भइसकेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १ सय ७ जनाबाहेक बाँकी सबै युवा छन् । अर्थात् ५ सय ५० जना कर्णालीका युवामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकामध्ये ८५ प्रतिशत नागरिक पनि युवा नै छन् ।
कर्णाली प्रदेशमा गत जेठ ५ गते मात्रै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । देशका अन्य ६ प्रदेशमा कोरोना संक्रमण फैलिसकेपछि मात्रै कर्णालीमा भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोना पुष्टि भएको थियो । आठबिस नगरपालिका- १, दैलेखका ३५ वर्षीय युवामा कोरोनाको पुष्टि भएलगत्तै १० गते सुर्खेतका ३ जना युवामा कोरोनाको पुष्टि भएको थियो । त्यस्तै जेठ १२ गते कोरोना पुष्टि भएका दैलेखका ७ जनासमेत युवा उमेर समूहकै रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
जेठ १३ गते संक्रमण पुष्टि भएका सुर्खेतका १२ जनामध्ये ९ वर्षीय बालक, ४६ र ४९ वर्षीय पुरुषबाहेक बाँकी ९ जना युवा हुन् । त्यस्तै १४ गते संक्रमण पुष्टि भएका सुर्खेत र बझाङका १५ जनामध्ये ११ र १४ वर्षका दुई बालकसहित ५ र २ वर्षीय बालिका मात्र युवा उमेर समूह बाहिरका थिए । बाँकी ११ जना भने १६ देखि ४० वर्षसम्म उमेरका थिए ।
त्यस्तै १५ गते कोरोना पुष्टि भएका दैलेखका ८ मध्ये ७ जना युवा उमेर समूहका र १ वर्षीय बालक थिए । १७ गते कर्णाली प्रदेश अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यसरी कोरोना पोजेटिभ देखिनेमा दैलेख, कालिकोट, बाजुरा र सल्यानका भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका ५० जना युवा उमेर समूहका थिए भने दुईजना मात्र बालबालिका तथा ७ जना वृद्ध उमेरका रहेको महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
जेठ १८ गते गरिएको पीसीआर परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । जसमा १७ जना युवा उमेर समूहकै थिए भने ४८ वर्षीय एकजना पुरुष रहेका थिए । त्यस्तै जेठ १९ गते गरिएको परीक्षणमा १ सय १० जनालाई कोरोना पोजेटिभ देखिएकोमा ११ जना मात्रै युवा उमेर बाहिरका थिए । बाँकी ९९ जना युवा रहेका थिए । जेठ २० गते गरिएको पीसीआर परीक्षणमा सुर्खेत, दैलेख अछाम लगायतका २९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जसमा ४ जना मात्रै युवा उमेर समूह बाहिरका थिए भने बाँकी २५ जना युवा उमेरका हुन् । २१ गते गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएकोमा ३ जना मात्र युवा उमेर समूह बाहिरका थिए ।
जेठ २२ गते गरिएको परीक्षणमा दैलेख र मुगुका गरी १ सय १४ जनामा कोरोना पुष्टि भएको थियो । यसमध्ये १३ जना मात्रै युवा उमेर समूहभन्दा बाहिरका थिए । त्यस्तै जेठ २३ गते गरिएको परीक्षणमा समेत दैलेख र सुर्खेतका गरी १ सय जनामा कोरोना पुष्टि भएको थियो । यसमध्ये १२ जनाबाहेक बाँकी सबै ८८ जना युवा हुन् ।
जेठ २४ गते ९८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । जसमध्ये ८० जना युवा उमेर समूहका हुन् । त्यस्तै २५ गते गरिएको पीसीआर परीक्षणमा ५४ जना कोरोना पोजेटिभ भेटिएका थिए । सल्यान, सुर्खेत, दैलेख र कालिकोटका उनीहरुमध्ये ३ जना बालकसहित ७ जना मात्रै युवा उमेर बाहिरका रहेको महाशाखा प्रमुख तिवारीले बताए ।
कर्णालीमा गत सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यसमा पनि १५ जना युवा छन् । एक जनामात्र बालक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको उल्लेख छ । उल्लेखित तथ्यांकले पनि कर्णालीमा हालसम्म भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश युवाहरु रहेको पुष्टि हुन्छ । संक्रमितहरु थोरै संख्यामा मात्र बालबालिका र वृद्धवृद्धा छन् ।
युवाहरु रोजगारीका लागि भारतका विभिन्न स्थान पुग्नु र फर्कंदा केही न केही संक्रमण लिएर आउनु कर्णालीका लागि नयाँ कुरा होइन । यसअघि पनि भारतबाट फर्केका युवाहरुमा एचआईभी एड्सको संक्रमण देखिने गरेको थियो ।
प्रकाशित समय १२:५२ बजे

















