गृहपृष्ठ सर्ट सेलमा लगाम लागेपछि ट्रयाकमा आउँदै सेयर बजार

सर्ट सेलमा लगाम लागेपछि ट्रयाकमा आउँदै सेयर बजार

आइतबार ९ अंकले बढ्यो नेप्से

नेपाल धितोपत्र बोर्डले खातामा सेयर नभई बिक्रीमा राख्न (सर्ट सेल) नसक्ने व्यवस्था गरेपछि सेयर बजारमा हुने अवाञ्छित गतिविधिमा केही कमी आएको छ । बोर्डले लकडाउनपछि सर्ट सेल गर्न नपाउने गरी सिस्टम बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन जारी गरेपछि बजारमा सप्लाई बढाएर मूल्य प्रभावित पार्ने क्रम रोकिएको हो ।

यसअघि ब्रोकर कम्पनीहरूसँग मिलेर ठूला लगानीकर्ताले सर्ट सेल गर्दै आएका थिए । मूल्य बढेका बेला आफूले किने सेयर खातामा नआईकन या खातामा सेयर नभए पनि बिक्री गर्ने र नाफा कमाउने प्रवृत्तिले सेयर बजार प्रभावित हुँदै आएको थियो । निभ सेक्युरिटिज (ब्रोकर नम्बर ४७) का डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) आनन्दकुमार भट्टराई विगतमा ब्रोकरहरूसँग मिलेर या नमिलेर पनि सर्ट सेल हुने गरेकोमा लकडाउनपछि रोकिएको बताउँछन् । ‘विगतमा हुन्थ्यो, त्यसका लागि ब्रोकरको सहयोग पनि चाहिन्नथ्यो नि !’ उनी भन्छन्, ‘लगानीकर्ताले बेच्ने अर्डर दिएपछि खातामा सेयर ब्यालेन्स हेर्नतिर लागिँदैनथ्यो, पछि नभएको पाए पनि केही गर्न सक्ने स्थिति थिएन तर अहिले अनिवार्य हेर्नैपर्छ, सर्ट सेलको सम्भावना छैन ।’

सर्ट सेलमा लगाम लागेपछि विगतमा चलखेल गर्न बानी परेका लगानीकर्ता पनि छट्पटाएका छन् । निभ सेक्युरिटिजबाट बाहिरिँदै गरेका एक लगानीकर्ताले भने, ‘विगतमा यस्तो धेरै गरियो, अहिले सम्भव छैन, चुप बस्नुको विकल्प छैन ।’ उनले डिम्याट खाता र ट्रेडिङ अकाउन्ट पनि एकभन्दा बढी खोल्न नपाएकोमा दुखेसो गरे । ‘बैंकमा एकभन्दा बढी खाता खोल्न पाइन्छ, सेयर खाताचाहिँ एकभन्दा बढी खोल्न किन नपाइने ?’ उनी भन्दै थिए ।

सिडिएस एन्ड क्लियरिङले दुईभन्दा बढी डिम्याट खाता राखेमा सबै खाता रोक्का गरिदिने भएको छ । विगतमा दुईभन्दा बढी खाता भए पनि रोक्का नै राख्ने निर्णय गरेको थिएन । अहिले कम्पनीले दुईभन्दा बढी डिम्याट खाता भए बन्द गर्न आग्रह गरेको र बन्द नगरे रोक्का राखिदिने चेतावनी दिएको हो ।

सर्ट सेलमा लगाम लगाउन दुईभन्दा बढी डिम्याट खाता राख्न नदिन सिडिएसलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए । ‘सर्ट सेल रोक्ने भनेपछि अनुगमनमा सहजताका लागि पनि दुईवटा मात्र डिम्याट खाता राख्नुस् भनेका हौँ,’ उनले भने ।

सर्ट सेल बजारमा तरलता बढाउनका लागि भने उपयोगी अस्त्र हो । तर यसका लागि कानुनी व्यवस्था र लेन्डिङ इन्स्टिच्युटको व्यवस्था गर्नुपर्ने प्रवक्ता गिरि बताउँछन् । ‘हामीकहाँ बजार व्यवस्थित हुँदै गएको छ तर त्यति एड्भान्स भइसकेको छैन,’ उनी भन्छन्, ‘त्यसकारण अहिलेका लागि सर्ट सेललाई वैधानिक बनाउनेतिर लागिएन ।’ अन्तर्राष्ट्रिय बजारमा ब्रोकरसँग सापटी लिएर सर्ट सेल गर्ने गरिन्छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि अहिले नेपालको धितोपत्र बजारमा तत्काललाई हेरेर नीति निर्माण गर्ने र लागू गर्ने गरिएको बताउँछन् । ‘सर्ट सेल हिजो हुन्थ्यो या हुँदैनथ्यो भन्दा पनि वैधानिक तरिकाले सर्टसेल गर्न दिनु सेयर बजारको दायरा विस्तारका लागि उपयोगी हुन्छ,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय अभ्यासले पनि यही भन्छ ।’

सर्ट सेल गर्न नपाएपछि आपूर्ति बढाएर मूल्य उतारचढाव गराउने क्रम आइतबार देखिएन । खातामा सेयर नभए पनि १० प्रतिशतसम्म मूल्य बढाएर बिक्रीमा राख्ने, सप्लाई बढेको देखाउने र सस्तोमा सेयर उठाउने परिपाटी विगतमा धेरै हुन्थ्यो । त्यस्तै किनेको सेयर खातामा नआए पनि मूल्य बढे बेचिहाल्ने र नाफा खाने अल्पकालीन लगानीकर्ता पनि धेरै हुन्थे ।

आइतबार सेयर बजारमा केही उतारचढाव देखिए पनि पूरा समय कारोबार भएको छ । बैंक, होटल, निर्जीवन बिमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बिमा समूह बढेपछि समग्र बजार परिसूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४५ अंकमा पुगेको छ । बजारमा विगतमा दिनमा जस्तो सर्किट लाग्ने अवस्था पनि आएन ।

कुल १७२ कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता सेयर एक अर्ब ३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ । सूर्योदय लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु