गृहपृष्ठ पर्सामा पूर्वमन्त्रीसहित ७० जनाले जिते कोरोना

पर्सामा पूर्वमन्त्रीसहित ७० जनाले जिते कोरोना

विगत दुई दिनमा पर्साको कोभिड विशेष अस्पतालबाट ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । नारायणी अस्पतालको मातहातमा रहेको वीरगञ्ज हेल्थ केयरस्थित विशेष कोभिड अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार साँझ ३४ जना कोरोनामुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेस विभाग प्रमुख अजयकुमार चौरसिया, वीरगञ्ज कारागारका जेलर श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु पनि रहेका छन् । पूर्वमन्त्री समेत रहेका चौरसिया डेढ हफ्ताअघि संक्रमित भइ वीरगञ्ज हेल्थ केयरमा भर्ना भएको अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले बताए ।

त्यसैगरी संक्रमणमुक्त हुनेमा पोखरिया र वीरगञ्जका दुई जना मिर्गौला रोगी महिला पनि रहेका छन् । उनीहरुलाई हेल्थ केयर अस्पतालमा तीनपटक डायलासिस गरिएको थियो ।

शनिबार संक्रमणमुक्त भएकामध्ये २५ जना पर्साको विभिन्न स्थानीय तहका हुन् भने अन्य दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जका विभिन्न स्थानमा बसोवास गदै आइरहेका छन् ।

हेल्थ केयरमा उपचार गराइरहेका उनीहरुको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको डा. सिंहले बताए । उनका अनुसार संक्रमणमुक्त भए पनि उनीहरुलाई १४ दिन होम क्वारेन्टिन बस्न आग्रह गरिएको छ ।

यसअघि शुक्रबार वीरगञ्ज वडा नं. १३ का वडाध्यक्ष रामदरश कुशवाहा, अन्नपुर्ण पोस्ट दैनिकका पर्सा संवाददाता सञ्चारकर्मी क्रान्ति साहसहित ३६ जना सोही अस्पतालबाट डिस्चार्ज भएको डा. सिंहले जानकारी दिए ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु