गृहपृष्ठ कन्ट्रयाक ट्रेसिङ गर्दा दुईजनामा कोरोना

कन्ट्रयाक ट्रेसिङ गर्दा दुईजनामा कोरोना

वीरेन्द्रनगरमा गत साउन २८ गते कोरोना पोजेटिभ देखिएका १८ जनाको कन्ट्रयाक ट्रेसिङ गर्दा दुईजनामा कोरोना पुष्टि भएको छ । सुर्खेत बसपार्कमा गरिएको स्वाब संकलनमा नौ जनामा कोरोना पुष्टि भएकामा दुईजनामा कन्ट्रयाक ट्रेसिङका आधारमा कोरोना पोजेटिभ देखिएको हो ।

जसमध्ये वीरेन्द्रनगरका ६, बराहताल गाउँपालिका सुर्खेतका १, धनौजी गाउँपालिका धनुषाका १ र तनुहवा भारतका १ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ । जसमध्ये दुईजना कन्ट्रयाक ट्रेसिङको आधारमा र अन्य होम क्वारेन्टिन तथा वीरेन्द्रनगरकै क्वारेन्टिनमा बसेकाहरु रहेको जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनका अनुसार २ सय १७ जनाका गरिएको आरटी-पीसीआर परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो । वाग्लेले वीरेन्द्रनगरका फुटपाथमा बसी काम गर्ने ३७ जनामा कारोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकोसमेत जानकारी दिए ।

त्यस्तै कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परिक्षणमा बनगाड-कुपिण्डे नगरपालिका सल्यानका १ सहित दश जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा तीनजना तथा दैलेख अस्पतालमा गरिएको परिक्षणमा १ जना गरी सोमबार कर्णालीमा १४ जनामा कोरोनाभाइरस (कोभिड- १९) को पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ८१ पुगेको छ । गत २४ घण्टामा प्रदेशभर १४ जना संक्रमणमुक्त भएर घर फर्किएको प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार हालसम्म कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय २८ पुगेको छ । प्रदेशभर सोमबारसम्म १ सय ६६ जना कोरोनाका सक्रिय बिरामी रहेको महाशाखाको तथ्यांक छ । हालसम्म कर्णालीमा ६ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु