गृहपृष्ठ समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन स्वाब संकलन

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन स्वाब संकलन

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि निर्वाचन क्षेत्र नम्बर ५ (क) मा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिका ४ र ५ मा मंगलबार १ सय ८ जनाको स्वाब संकलन गरिएको हो ।

४ नम्बर वडाका ९२ र ५ का १६ जनाको चण्डोलमा स्वाब संकलन गरिएको वडा कार्यालयले जानकारी दिएको छ । कोरोना संक्रमणको शंका लागेका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएको ४ नम्बर वडाध्यक्ष मोहन विष्टले बताए । उनका अनुसार संकलित  स्वाब आजै प्रयोगशालामा पठाइएको र बुधबारसम्म नतिजा आउने छ ।

नतिजा आएपछि उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको अवस्था कस्तो छ ? भनेर आँकलन गर्न सकिने सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालले बताए । ‘कोरोनाको शंका लागेका वा कोरोना संक्रमितको  सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन गरेका छौं । रिपोर्ट आउन २४ घण्टा लाग्छ, रिपोर्टको आधारमा काठमाडौंमा संक्रमणको  अवस्था कस्तो छ थाहा हुनेछ,’ सांसद सिलवालले भने ।

संक्रमणको जोखिम कम गर्न वडावासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराइरहेको वडाध्यक्ष मोहन विष्टले बताए । ‘यदि संक्रमणको आशंका भएमा नआत्तिन र वडामा सम्पर्क गर्न आग्रह गरेका छौँ, हामी नमुना परीक्षण गराउने छौँ,’ उनले भने ।

कोरोना परीक्षणको संयोजकसमेत रहेका वडा सदस्य ध्रुव त्रिपाठीले आफ्नै वडामा संक्रमणबाट एक ७५ वर्षीया  पुरुषको निधन भइसकेको र एकजना पाटन अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै सबैले सावधनी अपनाउनुपर्ने बताए । यसअघि साउन ३० गते वडा नम्बर २ मा नमुना परीक्षण गर्दा ४ जना संक्रमित भेटिएका वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । संक्रमणको शंका लागेका र संक्रमितको सम्पर्कमा आएकाहरूबाट असहयोग भइरहेको उनले गुनासो गरे ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु