गृहपृष्ठ लक्षण देखिएकाको मात्रै सीमा नाकामा कोरोना परीक्षण

लक्षण देखिएकाको मात्रै सीमा नाकामा कोरोना परीक्षण

स्वाब संकलन गरिँदै (फाइल तस्बिर) ।

कोरोनाभाइरस (कोभिड- १९)को लक्षण देखिएकाहरुको मात्रै नाकामा अनिवार्य आरटी-पीसीआर परिक्षण गरिने भएको छ । मंगलबार बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि साउन २९ गते बसेको केन्द्रको बैठकले नाकामा भित्रिने सबै नागरिकहरु अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने गरी निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुका अनुसार मंगलबार बसेको बैठकले संघीय सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार कार्यान्वयन गर्ने गराउने गरी निर्णय गरिएको हो । ‘लक्षण देखिएकाहरुलाई मात्रै नाकामा अनिवार्य कडाई गरिनेछ । त्योबाहेक कन्ट्रयाक ट्रेसिङ र कोरोना देखिएको स्थानमा सिल गर्ने गरी निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयले उपयुक्त मापदण्ड बनाई कोरोना संक्रमितहरुलाई निशुल्क उपचार गर्ने, कोभिड- १९ बाट हुनसक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरणको लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेश गर्ने र प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टिनमा खाना खुवाउन आवश्यक पर्ने ७५ लाख उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपलब्ध गराउने निर्णय भएको सचिव सारुले बताए ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु