गृहपृष्ठ विद्यार्थी अभावमा विशेष शिक्षा बन्द
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द
सांकेतिक तस्बिर
विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शंकर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।
यी दुई विद्यालयमा २०६१ सालदेखि विशेष शिक्षा सञ्चालनमा थियो । अपांगता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभावमा कक्षा बन्द भएको उनले बताए ।
कोरोनाभाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकिएको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपांगता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपांगता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ ।
अपांगता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपांग संघका उपाध्यक्ष लक्ष्मी विष्टले बताए । उनले भने, ‘अपांगता भएका विद्यार्थीका लागि अपांगमैत्री संरचना नहुँदा झन् समस्या छ, विशेष शिक्षामा अपांगता भएका विद्यार्थीको पहुँच नै पुग्न सकेको छैन ।‘ अपांगता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पु‑याउने नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो छ । (रासस)
प्रकाशित समय ०६:४४ बजे
















