गृहपृष्ठ गाउँलेले ब्युँताएको त्यो विद्यालय

गाउँलेले ब्युँताएको त्यो विद्यालय

गत शैक्षिक सत्रमा बागलुङको सरस्वती प्राविमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी संख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै संकटमा पर्‍यो ।

काठेखोला गाउँपालिका ७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश बने ।

दैलोको विद्यालय नचलेपछि पढ्न टाढा जान बाध्य बालबालिकाको पीडाले छोयो । अभिभावकको पनि मर्का बुझे । अझै पनि विद्यालय जोगाउन सकिन्छ कि भनेर स्थानीयवासी लागिपरे । विद्यालय बचाउने जुक्ति निकाले । गाउँको सर्वपक्षीय भेला बस्यो ।

बन्दको मुखमा पुगेको विद्यालयलाई हरहालतमा जोगाउनेतिर भेलामा एकमत बन्यो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कस्सिए । जनप्रतिनिधिलगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आड र ढाडस दिए ।

एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ । यसअघि कक्षा ५ सम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा ३ सम्ममात्र सञ्चालन गरिए पनि शून्यतिर ओरालो लागेको विद्यार्थी संख्या बढेर ४७ पुगेको छ ।

विद्यार्थीले अंग्रेजी माध्यममा पढ्न पाएका छन् । ‘विद्यालय बन्दै हुन आँटेको थियो, विद्यार्थी नै नभएपछि नचाहेर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पर्थ्यो,’ प्रधानाध्यापक भीमबहादुर थापाले भने, ‘समुदायको पहलमा विद्यालय जोगिएको छ ।’

अंग्रेजी माध्यमसँगै विद्यालयले सिकाइमैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् । अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् ।

विद्यालयको आर्थिक संकट टार्न अभियान चलाइएको छ भने शैक्षिक र व्यवस्थापकीय सुधारका लागि शिक्षा समिति, आर्थिक समितिलगायत क्रियाशील छन् । विद्यालयलाई आर्थिकरूपमा उकास्न अभियान थालिएको आर्थिक संयोजक थमबहादुर थापाले बताए । विद्यालय संकटमा फसेपछि स्थानीय साँघखोला–रातापहरा सामुदायिक वन उपभोक्ता समूहले यही वर्ष दुई लाख रुपैयाँ सहायता उपलब्ध गराएको थियो ।

समूहका अध्यक्ष नारायणप्रसाद शर्माले पनि व्यक्तिगत रूपमा ५० हजार रुपैयाँको अक्षयकोष विद्यालयमा राखेका छन् । त्यस्तै वडाध्यक्ष प्रेम लामिछानेले पनि अक्षयकोषमा २५ हजार सहयोग गरेका छन् ।

अहिले अक्षयकोषमा १ लाख २५ हजार रुपैयाँ जम्मा भइसकेको छ । वडा र गाउँपालिकामार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलापमा सघाइने वडाध्यक्ष लामिछानेले बताए ।

‘स्थानीयवासी नकस्सिएका भए विद्यालय रहने थिएन, वडाकै अर्को परोपकार प्रावि पनि यसरी नै बन्द हुनबाट जोगिएको छ,’ उनले भने । विद्यालयले विद्यार्थीलाई खाजा, पोशाक उपलब्ध गराउने गरेको छ । अभिभावकले आलोपालो गरेर विद्यालयमै आई खाजा आफैँ बनाएर विद्यार्थीलाई खुवाउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले विद्यालय सुधारमा समुदायको योगदान अपरिहार्य रहेको बताए । उनले विद्यार्थी घटेपछि एकीकरणको अभियान चलिरहेका बेला विद्यालय जोगाउन समुदायले गरेको अगुवाइ प्रशंसनीय रहेको उल्लेख गरे ।

‘शिक्षा बिग्रिए सबै बिग्रन्छ, शिक्षालाई जगैदेखि सुधार्नुपर्छ,’ उनले भने, ‘ठूलो भवन, कक्षाकोठा मात्र भएर पनि नहुने रहेछ, मुख्य कुरा विद्यालयमा सिकाइमैत्री वातावरण छ, छैन हेर्नुपर्छ ।’ २०४६ मा स्थापना भएको सो विद्यालयमा दुई दरबन्दी, एक राहत र चार निजी स्रोतका शिक्षक छन् ।

दरबन्दी कम हुँदा विद्यालयलाई अतिरिक्त आर्थिक भार छ । प्रअ थापाका अनुसार अझै पनि विद्यालय चार लाख घाटामा छ । ‘शैक्षिक वातावरणमा आएको सुधारले विद्यालयप्रति अभिभावक र विद्यार्थीको भरोसा बढेको छ, अब आर्थिक र व्यवस्थापकीय रूपमा मजबुत पार्नुपर्ने आवश्यकता छ,’ उनले भने । (रासस)

प्रकाशित समय ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु