गृहपृष्ठ प्रधानमन्त्रीको सन्देश- म ठीक छु
प्रधानमन्त्रीको सन्देश- म ठीक छु
थप तीन दिन अस्पताल राखिने
फाइल तस्बिर
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ‘ठीक रहेको’ बताएका छन् । प्रधानमन्त्री ओलीलाई उदृत गर्दै नेकपाका वरिष्ठ नेता माधव नेपालले भने, ‘म ठीक छु, शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद ।’
अस्पताल भर्ना गरिएपछि यसअघि ओलीलाई नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेताले पनि अस्पताल पुगेर भेटेका थिए । त्यस्तै उनलाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायत पनि अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री अस्पताल भर्ना भएको खबरले सर्वत्र चासो बढेपछि अस्पतालले पनि सोमबार विहान प्रेस विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको बारेमा जानकारी दिएको थियो । अस्पतालले प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको तथा रगतमा चिनीको मात्रा कम देखिएको जानकारी दिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार र अवस्था सामान्य रहेको विज्ञप्तीमा उल्लेख थियो ।
तीन दिन अस्पताल राखिने
प्रधानमन्त्री ओलीलाई तीन दिनसम्म अस्पतालमै राखेर उपचार गरिने भएको छ । उनलाई शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर सेन्टरको सघन उपचार कक्षमा राखिएको छ ।
प्रकाशित समय १३:०६ बजे
















