गृहपृष्ठ ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्टका उत्कृष्ठ ५० छनोट
‘डिजीपे– लकडाउन्स गट ट्यालेन्टका उत्कृष्ठ ५० छनोट
विगत २ महिनादेखि सञ्चालन भएको लकडाउन गट ट्यालेन्ट (एलजीटी) प्रतियोगिताका टप ५० प्रतिष्पर्धी छनोट भएका छन् ।
स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा आयोजना गरेको ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ को चार राउन्डसम्म चलेको प्रतियोगिताबाट हरेक राउन्डमा १०-१० जनाका दरले र वाइल्ड कार्डबाट थप १० जना गरी ५० जना प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि छनोट भएको प्रतियोगिताका आयोजक स्टेट एड मिडियाकी स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले जानकारी दिइन ।
नेपालका अनुसार अन्तिम छनोटमा परेका ५० प्रतिष्पर्धीमध्ये २९ महिला र २१ जना पुरुष छन् ।
यी ५० अन्तिम प्रतिस्पर्धीले आफ्नो डिजीपे मोबाइल वालेट खातामा १ हजार रुपैयाँका दरले नगद पाउने र प्रतियोगिताका विभिन्न प्रायोजकका तर्फबाट ४० हजार रुपैयाँबराबरको गिफ्ट भौचर प्राप्त गर्ने डिजीपेका कार्यकारी प्रमुख दिवाकर पाण्डले जानकारी दिए ।
नेपालमा ‘भर्चुअल’ रूपमा प्रतिभा प्रदर्शनको प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो । यो प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा– नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला– कुकिङ, टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनुपर्ने व्यवस्था गरिएको थियो भने ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयर र डिजीपे एपबाट भोटिङको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने नेपालले जानकारी दिइन ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका अवधिमा स्वस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताका आयोजक स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष नेपालका अनुसार २ महिनाको अवधिमा २०० भन्दा अधिक भिडियो प्रतियोगितामा सहभागिताका लागि प्राप्त भएको थियो ।
‘प्रतियोगितामा बढीमात्रामा युवाहरूको सहभागिता रहेको भए पनि बालकदेखि जेष्ठ नागरिकहरूका सम्म भिडियो प्राप्त भएको थियो,’ नेपालले भनिन ।
विगतदेखि नै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूका प्रायोजन तथा सह-आयोजक रहँदै आएको डिजीपेका कार्यकारी प्रमुख दीवाकर पाण्डे यतिधेरै उत्साहजनक सहभागिता आफूले यसअघि अनुभव नगरेको सुनाउँछन् ।
‘यो हाम्रा लागि पनि नयाँ अनुभव थियो, जहाँ कुनै जज नै छैनन् । सहभागीहरूका भिडियो शेयर, लाइक र कमेन्टका आधारमा विजेता छानिने यो प्रतियोगिताले हामीले पनि केही अनुभव हासिल गरेका छौं,’ पाण्डले भने ।
प्रतियोगिता आयोजक स्टेट एड मिडियाका अनुसार साउन ५ देखि ११ गतेसम्म अन्तिम राउन्डको भोटिङ हुनेछ, जसका आधारमा साउन १२ गते मिस एलजीटी र मिस्टर एलजीटी छनोट गरिने छ । विजेताहरूले नगद २५-२५ हजार रूपैयाँ र गिफ्ट भौचर पाउने छन् ।
नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपे मुख्य प्रायोजक रहेको प्रतियोगितामा नेटम्याक्स ग्लोबेन्सी, बेननेभिज, एलओडी, लस इक्सोबार्स, क्यूएफएक्स, टिटाइम कफी ब्रेक र इजीकेयर सहप्रायोजक छन् । अफिसियल प्रमोटरका रुपमा नेपाली म्युजियर रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनर न्युज कारोबार डिजिटल मिडिया रहेको छ भने अफिसियल डिजिटल मार्केटिङ पार्टनर डिजिटल बाजे र अफिसियल बैंक एनसीसी बैंक रहेको छ ।
प्रकाशित समय १४:५१ बजे

















