गृहपृष्ठ इलामको पर्यटन प्रवर्द्धनमा चलचित्र क्षेत्रको राहत

इलामको पर्यटन प्रवर्द्धनमा चलचित्र क्षेत्रको राहत

चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लोसमय भने चलचित्रबाटै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । नयाँ-नयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम चल्न थालेको छ ।

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरना लगायतका क्षेत्रमा चलचित्र छायांकन गरिएको थियो ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायांकन परेकाले छायांकन क्षेत्र केही राम्रो देखियो । चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवर्द्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लोसमय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृषि लीला’ छायांकन थालिएको छ ।

इलामकै ८० प्रतिशत भूभागमा छायांकन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगर लगायतका क्षेत्रमा छायांकन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायांकन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवर्द्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङले बताउँछन् ।

चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फे लगायतको भूमिका रहनेछ । ‘पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ,’ नेपाल चलचित्रकर्मी संघ प्रदेश नं १ का अध्यक्षसमेत रहेका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवर्द्धन गर्न गाह्रो भएको बताउँछन् ।

‘हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ,’ तामाङले भने, ‘अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन ।’ चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया/प्रेम जोडेको आधार रहेछ ।

ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसकेका छन् । यसअघिका चलचित्र व्यावसायिक रूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मन पराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । ‘पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ,’ ओलीले भने ।

हुन त इलाममा चलचित्र छायांकन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुंगाना  अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङगा’, प्रियंका कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल- ५’,लगायतका दर्जन बढी चलचित्र छायांकन भइसकेका छन् तर, प्रायः चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ । चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायांकन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताए ।

यता चलचित्रका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउँछन् । ‘पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो ।’ इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायांकनका क्रममा रहेका खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको बताए ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङको भनाइ छ । ‘स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौं ।’ चलचित्रमा इलाममै छायांकन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।

(किरण पौड्याल)

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु