गृहपृष्ठ प्रधानमन्त्रीले भने : नेपाल सुतिरहेको छैन

प्रधानमन्त्रीले भने : नेपाल सुतिरहेको छैन

pm1-newskarobar चन्द्रागिरिमा कविता लेख्दै प्रधानमन्त्री । तस्बिर : रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन् । ‘विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौं, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ । हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौं, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।’

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २ सय ५ औं भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आइतबार चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गरे ।

साहित्यको महत्व दर्शाउँदै उनले भने, ‘कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ । मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन । निःशुल्करुपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने सोलार प्यानल प्राप्त गरेको छु । म चार्ज भएको छु ।’ प्रधानमन्त्री ओलीले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रममा बोल्दै चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले वर्तमान सरकारको समृद्धिको सपनालाई सबै क्षेत्रबाट सहयोग हुने अपेक्षा व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले सम्मिलनबाट पारित १५ बुँदे घोषणापत्र कार्यान्वयनका लागि सहभागी स्वदेशी र विदेशी स्रष्टाहरुलाई आग्रह गरे ।

(रासस)

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु