गृहपृष्ठ नेपाली साहित्यमा विलियम सेक्सपियर
नेपाली साहित्यमा विलियम सेक्सपियर
नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा १९०६–०७ सालतिर बेलायत पुगेर अंग्रेजहरुले झैँ कोट लगाएर फर्किए । त्यतिमात्रै होइन, उनी बेलायत घुमेर फर्किएपछि पश्चिमी साहित्य र संस्कृति नेपाल भित्र्याउने चेष्टा गरियो । त्यसपछि अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि नेपाली विद्यार्थीले उच्च शिक्षा प्राप्त गर्न भारतभूमि जान नपरोस् भन्ने मनसायले देशभित्रै १९७५ सालमा त्रिचन्द्र कलेज स्थापना गरे । नेपाली विद्यार्थीले अंग्रेजी साहित्य पठनपाठनमा निकै अभिरुची देखाए । तीमध्येमा पनि १६औँ शताब्दीका अंग्रेजी साहित्यका मूर्धन्य नाटककार विलियम सेक्सपियरका कृतिहरुमा ।
आधुनिक नेपाली साहित्यका विशिष्ट नाटककार बालकृष्ण समले त विलियम सेक्सपियरको शैली अनुकरण गरी अनुष्टुप छन्दमा थुप्रै नाटकसमेत लेखेका छन् । त्यसैले उनलाई ‘नेपालका सेक्सपियर’ पनि भनिन्छ ।
अंग्रेजी साहित्यका अति गौरव र विश्वसाहित्यका दुर्लभ प्रतिभा मानिने यी मूर्धन्य नाटककार एवं कवि विलियम सेक्सपियर ई. सं. १५६४ अप्रिल २३ का दिन बेलायतको एउटा सानो सहर स्ट्रारफोर्ड–अपन–एवं भन्ने ठाउँमा जन्मेका हुन् । यिनका बाबु सामान्य परिवारका थिए भने आमाचाहिँ हुनेखाने परिवारकी । त्यही सहरकै ग्रामर स्कुलमा सेक्सपियरले शिक्षा हासिल गरे । आफूभन्दा केही वर्ष जेठी उमेरकी ऐनीसँग विवाह गरी रोजगारीको खोजीमा लन्डन सहर पसे । सहकर्मीसँग मिलेर एउटा थिएटर बनाए, जुन पछि गएर ग्लोबल थिएटरको रुपमा प्रसिद्ध भयो । त्यहाँको नृत्य–नाटक मण्डलीसँग आबद्ध भएर २० वर्षभन्दा बढी समयसम्म अभिनेता र लेखक बनी सक्रिय रहे । पछि आर्थिक अवस्था सुध्रिएपछि आफ्नै गाउँ फर्किए ।
बेलायतकी महारानी एलिजावेथ प्रथमको समय ‘एलिजावेथन पेरियड’मा उनको प्रभाव र उचाइले गर्दा त्यो युगलाई नै ‘सेक्सपियर युग’ भनियो । लण्डन बसाइँमा सेक्सपियरले १५४ वटा सनेट (चतुष्पदी कविता), सामाजिक, रोमान्टिक, वियोगान्त, संयोगान्त, ऐतिहासिक एवं हास्यप्रधान गरी ३७ वटा नाटक र काव्यहरु सिर्जना गरी अंग्रेजी साहित्य समृद्ध पार्नमा गहकिलो योगदान गरे ।
नाटक र काव्य लेखनबाट अपूर्व यश र कृति हासिल गरेका यिनको मृत्यु ५२ वर्षको उमेरमा ई. सं. १६१६ अप्रिल २३ कै दिनमा भयो ।
उनका नाटकलाई चार कालखण्डमा विभाजन गर्न सकिन्छ । प्रारम्भिक कालका नाटकमा स्वप्निल भावहरु, दोस्रो कालमा ऐतिहासिक, रोमान्टिक र सुखान्त, तेस्रो कालमा दुःखान्त र पीडादायी तथा चौथो अथवा अन्तमा दया, क्षमाजस्ता मानवीय भावनाले भरिएका छन् । तर, उनले जीवनकालभरि आफ्ना सबै कृति प्रकाशन भएको अवसर भने देख्न पाएनन् ।
उनको मृत्यु भएको ४०० वर्ष बितिसक्दा पनि यश र चर्चामा अलिकति पनि कमी आएको छैन । यसै तथ्यलाई लक्षित गर्दै अंग्रेज कवि बेन जोन्सनले सेक्सपियरको विशेषताको बारेमा भनेका छन्– विलियम सेक्सपियर अंग्रेजी साहित्यका एक युगका मात्र नभई अनन्तकालसम्मका लागि पनि प्रतिनिधि हुन् ।
यिनै मूर्धन्य नाटकका कृतिहरुमा हामीकहाँ वि. सं. को १९औँ शताब्दीको नवौँ दशकदेखि केही चासो राखेको देखिन्छ । सात दशकको अन्तरालमा उनका सिर्जना नेपाली साहित्यमा चार प्रकारको माध्यमबाट अनूदित भई प्रवेश भएको पाइन्छ । कथा साहित्यमा, नाटकमा, काव्यमा र बालसाहित्यमा ।
सर्वप्रथम नेपाली साहित्यमा प्रवेश गराइएका सेक्सपियरका कृतिहरुमा ‘संसार एक नाट्यशाला हो’ भन्ने ‘ह्यामलेट’ नाटकको एक अंश नरेन्द्रमणि आचार्य दीक्षितद्वारा अनूदित ‘युरोपिय साहित्यको नमुना’ शीर्षक पुस्तकमा समावेश गरिएको छ । उक्त ग्रन्थ वि. सं. १९९५ मा तत्कालीन नेपाली भाषानुवाद परिषद्बाट छापिएको हो ।
कथा साहित्यबाट प्रकाशनको कालक्रमलाई नियाल्दा विलियम सेक्सपियरका ६ वटा नाटकलाई कथाको रुपमा अंग्रेज लेखक एच. जी. वाटद्वारा लेखिएको स्टोरिज फ्रम सेक्सपियरलाई ‘सेक्सपियर कथासंग्रह’को नाममा पार्थमणि दीक्षितद्वारा सर्वप्रथम अनूदित कथासंग्रह वि. सं. १९९८ मा तत्कालीन नेपाली भाषानुवाद परिषदद्वारा प्रकाशित भयो ।
त्यसपछि ६२ वर्षको अन्तरालपछि सेक्सपियरका १० वटा नाटकलाई कथाको रुपमा परिणत गरी ‘सेक्सपियरका विश्वप्रसिद्ध कथाहरु’ शीर्षकमा जलेश्वर पाण्डेद्वारा अनूदित संग्रह वि. सं. २०६० मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
यस संग्रहको प्रकाशनपछि सेक्सपियरको एउटा नाटक ‘रोमियो जुलियट’लाई ‘रोमियो जुलियटको प्रेमकथा’ शीर्षकमा विश्व रिजालद्वारा अनूदित कथा २०६२ मा ट्रान्स रिप्रिन्टद्वारा प्रकाशित गरियो । यसपछि ‘सेक्सपियरका कथाहरु’ नाम दिई मधुसूदन पाण्डेयद्वारा अनूदित संग्रह २०६४ मा पैरवी प्रकाशनद्वारा प्रकाशित भयो ।
यसरी नै ‘सेक्सपियरका दुई उत्कृष्ट कृति– ह्यामलेट र जुलियस सिजर’ शीर्षकमा मधुसूदन पाण्डेयद्वारा अनूदित कथासंग्रह २०६४ मा सनराइज पब्लिकेसनबाट प्रकाशित भयो भने पुनः ‘विलियम सेक्सपियरका विश्वप्रसिद्ध कथाहरु– भाग–१ र भाग–२ मा विभाजन गरी पहिलो खण्डमा १८ वटा र दोस्रो खण्डमा १९ वटा कथा समावेश गरी रामहरि बञ्जाराद्वारा अनूदित दुईवटा संग्रह २०६५ मा मधुवन प्रकाशनबाट छापियो ।
यस प्रकाशनको लगत्तै ह्यामलेट नाटकलाई ‘ह्यामलेट’ शीर्षक गरी सफल घिमिरेद्वारा अनूदित एउटामात्र कथा बेमितिमा ट्रान्स रिप्रिन्टद्वारा प्रकाशित गरियो । यस कथाको प्रकाशनसँगै चाल्र्स तथा मेरी ल्याम्बद्वारा सेक्सपियरका १४ वटा नाटकलाई कथाको रुप दिइएको स्टोरिज फ्रम सेक्सपियरलाई ‘सेक्सपियर कथासंग्रह’ शीर्षकमा तुलसीप्रसाद आचार्यद्वारा अनूदित कथासंग्रह २०६५ मा ट्रान्स रिप्रिन्टद्वारा प्रकाशित भएको पाइन्छ भने नाटकतर्फ विलियम सेक्सपियरका नाटकहरुमा सर्वप्रथम उनको ऐतिहासिक नाटक जुलियस सिजरको सोही मूलनाम ‘जुलियस सिजर’ शीर्षकमा आसाम, भारतका टंकनाथ उपाध्यायद्वारा अनुवाद गरी ई. सं. १९५३ वि. सं. २०१० मा बिहानी प्रकाशन आसामबाट प्रकाशित भयो ।
२२ वर्षपछि सेक्सपियरको उपरोक्त जुलियस सिजर नाटकलाई ‘जुलियस सिजर’ शीर्षकमा ओकिइयामा ग्वाइनद्वारा अनूदित नाटक इ. सं. १९७४ वि.सं. २०३१ मा श्याम ब्रदर्स, दार्जीलिङबाट प्रकाशित भयो ।
सेक्सपियरको सामाजिक ‘नाटक द मर्चेन्ट अफ वेनिस’लाई सूर्यप्रकाश गिरीद्वारा पहिलोपल्ट ‘भेनिसका महाजन’ शीर्षकमा अनूदित ग्रन्थ वि. सं. २०१३ सालमा प्रकाशित भयो । यस संस्करणमा प्रकाशकको नाम उल्लेख गरिएको छैन ।
द मर्चेन्ट अफ वेनिसलाई पुनः ‘भेनिसको व्यापारी’ शीर्षकमा पुष्पलाल शिवाकोटीद्वारा पुनः अनूदित नाटक ई. सं. १९६५ वि. सं. २०२२ मा हिमालय प्रिन्टिङ वक्र्स, दार्जिलिङद्वारा प्रकाशित गरियो ।
उक्त नाटक प्रकाशनको ठीक एक दशकपछि सोही नाटकलाई ‘भेनिसका महाजन’ नाम गरी रामचन्द्र गिरीद्वारा अनूदित नाटक ई. संं १९७६ वि. सं. २०३३ मा सागर पब्लिकेसन, सिलिगुडी, भारतबाट प्रकाशत गरियो भने निकै समयपछि पुनः सोही नाटकलाई ‘वेनिसका सौदागर’ शीर्षकमा टंकनाथ उपाध्यायद्वारा अनूदित ग्रन्थ नेपाली साहित्य परिषद्, आसामबाट ई. सं. १९९२ वि. सं. २०४९ मा प्रकाशित भयो ।
सेक्सपियरको अर्को नाटक ‘ट्वेल्थ नाइट’ ‘बाह्रौँ रात‘ शीर्षकमा उद्विप थापा मुगालीद्वारा अनूदित ग्रन्थ २०१७ सालमा नेपाल एकेडेमीबाट प्रकाशित भयो । यस नाटकको प्रकाशनपछि नाटककारको अर्को नाटक ओथेलोलाई ‘ओथेलो’ मूल शीर्षकमै पुष्करशमशेरद्वारा अनुवाद गरी २०१८ मा नेपाल एकेडेमीबाट प्रकाशित गरियो ।
धेरै वर्षको अन्तरालपछि यही नाटकको पुनः ‘ओथेलो’ शीर्षकमै मधुसूदन पाण्डेय एमएबीएलद्वारा अनूदित भई २०६२ मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो । सेक्सपियरकै अर्को नाट्यकृति म्याकबेथलाई ‘म्याकबेथ’ शीर्षकमै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा बृहत् भूमिकासहितको अनूदित नाटक २०२६ मा नेपाल सांस्कृतिक संघद्वारा प्रकाशित भयो ।
उक्त नाटक पुनः ‘म्याकबेथ’ शीर्षकमै मधुसूदन पाण्डेय एमएबीएलद्वारा अनूदित नाटक २०६० मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो । सेक्सपियरकै ऐतिहासिक नाटक किङ लियरको ‘राजा लियर’ शीर्षकमा उद्विप थापा मुगालीद्वारा अनुवाद गरिएको ग्रन्थ २०२९ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित भयो । सेक्सपियरकै ह्यामलेट नाटकलाई ‘हैमलेट’ शीर्षकमा प्रदीप ढकाल र यादवप्रसाद पाण्डेको संयुक्त अनुवाद ग्रन्थ २०५८ मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
कथा र नाटक अनुवादको उल्लेखपछि काव्य अनुवादतिर नियाल्दा यी मूर्धन्य नाटककार एवं कवि सेक्सपियरको लघुकाव्य विनस र एडोनिसलाई ‘रति र काम’ शीर्षकमा झ्याउरे छन्दमा श्रीभद्र शर्माद्वारा अनूदित १९९ श्लोकको ग्रन्थ २०६५ मा डा.आरती खनाल शाह तथा अरुणा खनालद्वारा प्रकाशित भयो ।
यस लघुकाव्यानुवादको विशेषता वा रोचक पक्ष के छ भने हाम्रा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित रतिरागात्मक कथा ‘कर्नेलको घोडा’सँग यस काव्यको कथा दाँजेर पाठकलाई कृतिको वास्तविक मर्म बोध गराउने काम गरेका छन् ।
बालसाहित्यमा पनि सेक्सपियरका कथा, नाटक र काव्यहमा १० वटा नाटकलाई सारसंक्षेपमा बालसाहित्यको रुपमा सरलीकृत अनुवाद प्रस्तुत गरिएको छ– ती बालपुस्तक छन्– राजा लियर, म्याकबेथ जुलियस सिजर, रोमियो जुलियटमध्ये ग्रीष्मरात्रिको एउटा सपना, ह्यामलेट, भेनिसको व्यापारी, मान या नमान, बाह्रौं रात तथा तुफान कृष्णदेव सिग्देलद्वारा अनूदित यी पुस्तकहरु २०५९ मा हिमाल बुक स्टलद्वारा प्रकाशित भयो ।
विलियम सेक्सपियरका कृतिको नेपालीमा अनुवाद गर्ने कार्यको थालनी भएको साताँै दशक पुग्दा उनका कृतिहरुमध्येमा सात जनाले नौवटा कथा संग्रहको अनुवाद गरेका छन् । त्यसमध्येमा दुई जनाले जनही दुईवटा संग्रहको अनुवाद गरेका छन् ।
नाटक अनुवादमा सातवटा नाटकको ११ जनाले १३ वटा अनुवाद गरेका छन् । तिनमा जुलियस सिजरको सोही शीर्षकमा दुई जनाले एक–एकवटा, बाह्रौँ रात र राजा लियर शीर्षकमा एक जनाले दुईवटा, ओथेलो शीर्षकमा दुई जनाले एक–एकवटा, म्याकबेथ पनि दुई जनाले एक–एकवटा अनुवाद गरेका छन् भने ह्यामलेट दुई जनाले संयुक्तरुपमा अनुवाद गरेका छन् तर ‘द मर्चेन्ट अफ वेनिस’ नाटक भने चार जनाले चार विभिन्न शीर्षकमा अनुवाद गरेका छन् । यसरी अंग्रेजी साहित्यका मूधन्य विलियम सेक्सपियर नेपाली साहित्यमा पनि गतिलो स्थान ओगटेर बसेका छन् ।
प्रकाशित समय १२:१८ बजे

















