गृहपृष्ठ सत्तान्ध (कविता)

सत्तान्ध (कविता)

rishav-newskarobar

अगाडि बिजुली गारद
पछाडि चुल्ठे मुन्द्रेको लस्कर
कतै चौबिसे पल्टनको सलामी
दाहिने तिर दम्भ
देब्रे पट्टि अभिमान
कहिले कानुनको उपहास
कतै विधि विधानको खिल्ली
जन भावनालाई बेवास्ता गर्दै
उडन्ते उखान उडाएर
नाचि रहेको छ
बालुवाटारमा जम्मुरे

 

अजव गजवको नेपालमा
पदको रापले जल्दो रहेछ
विवेकको विभूति
ओहोदाले लागाउँदो रहेछ
बुद्धिमा बिर्को
सत्ताको जंगलभित्र
शेर पनि  बन्दो रहेछ
बिरालोको बच्चा
न्वारनको नामले मात्र
मान्छे बन्दो रहेनछ रामचन्द्र
प्रतीक बन्नु पर्ने पुष्प कमल
स्वयम् तितेपाती भएपछि
के दिन्थ्यो र संसद भवनको
बगैचाले सुगन्ध

सत्ताधारीलाई छुँदा रैनछन् विरोधले
अनसनले सुन्निदो रैनछ
भ्रष्टाचारीको भुँडी
नीति नियममा नचल्ने
नकचरो भएर
अवतार सम्झदो रहेछ आफूलाई
राजन र विष्णु
मच्चाइरहँदा रहेछन
एकपछि अर्को बितण्डा
आँफै लगाउँदा रहेछन्
कल्कीको पगरी र श्रीपेच
लगाएर अपठित विद्याको जामा
देखाउदा रहेछन्
बुख्याचाको लिला ।

000

(गोदावरी, ललितपुर)

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु