गृहपृष्ठ नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रयोजक टेलिकम

नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रयोजक टेलिकम

ntc-agreement

नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रयोजक बनेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बुधबार दुवैतर्फका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीका केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल टेलिकम बुधबारदेखि लागू हुने गरी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समितिअन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । प्रायोजनबापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले प्रहरी महानिरीक्षक खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।

सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्नेछन् । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवर्धनात्मक सामग्रीमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीको निःशुल्क प्रयोग गर्न सक्नेछ ।

प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकतासमेत थप मजबुत हुने बताए । उनले एक वर्ष कम्पनीको व्यावसायिकता र नेपाल पुलिस क्लबका खेलाडीको खेलजीवन साथसाथै लैजान पाएको भन्दै खुसी व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी र नेपाल टेलिकमबीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवर्धन गर्न विशिष्ट योगदान पुग्ने बताए ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु