गृहपृष्ठ गगन थापाले भने– प्रधानमन्त्रीज्यू ! मेडिकल कलेज र पानीजहाज उस्तै होइनन्
गगन थापाले भने– प्रधानमन्त्रीज्यू ! मेडिकल कलेज र पानीजहाज उस्तै होइनन्
नेपाली कांग्रेसका सांसद गगन थापाले मेडिकल कलेज खोलेपछि विदेशीहरू पढ्न आउँछन् र टन्न डलर कमाएर धनी हुन्छौं भन्ने भ्रम नपाल्न प्रधानमन्त्रीलार्इ आग्रह गरेका छन् । डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा भएको प्रदर्शनमा सहभागी सांसद थापाले भने, ‘विदेशी विद्यार्थीबाट डलर भित्रिने र कमाएर धनी बन्ने भ्रम नपाल्नुस्, यो पानी जहाज जस्तो होइन, प्रधानमन्त्री ज्यू !’
सत्यका पक्षमा उभिएकाहरू थोरै भए पनि पुग्ने सांसद थापाको तर्क छ । संसदमा कतिपयले डा. केसी को हो भनेको सुनाउँदै गगन थापाले भने, ‘डा. गोविन्द केसी जोगी हुन्, फकिर हुन्, जो हामी र हाम्रा सन्ततीका लागि लडिरहेका छन् ।’
जुम्लामा अनसनरत डा. केसीको एकमात्र माग माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक आउनुपर्ने भएको उनले बताए । ‘त्यो माग पूरा नहुँदासम्म डाक्टर केसीलाई कसैले हल्लाउन सक्दैन,’ नेता थापाले बताए । सरकार जिद्दी गरेर बस्यो र उनको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्रीमात्र होइन, सिंगो नेपाल अपराधबाट मुक्त हुन नसक्ने भन्दै थापाले चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्रीले नेपाललार्इ मेडिकल हब बनाउँछु भनेको स्मरण गर्दै उनले भने,’ बंगलादेश पनि मेडिकल हब हो तर त्यहाँका डाक्टर देखेर डराउनुपर्ने अवस्था छ ।’
सरकारले ल्याएको विधेयक पास गर्ने हो भने थप २० वटा मेडिकल कलेज काठमाडौंमै खुल्ने र विशेषज्ञ डाक्टरहरु काठमाडौं छाडेर जिल्ला नजाने सांसद थापाको तर्क छ ।
प्रकाशित समय १६:३३ बजे

















