गृहपृष्ठ मोनोरेल निर्माणका लागि चिनियाँ टोली बुटवलमा

मोनोरेल निर्माणका लागि चिनियाँ टोली बुटवलमा

मुख्यमन्त्री पोखरेलसँग छलफल

monoral team butawal-newskarobar

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेल्वे इन्टरनेसनल गु्रपको एक टोलीले शुक्रबार भेट गरेको छ । भेटमा रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण रहेको बताएका थिए । उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकाले सम्भाव्यता अध्ययन, डिपीआर र निर्माणबारे छलफल गरी अघि बढ्न सकिने बताए ।
मुख्यमन्त्री पोखरेलले मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर, निर्माणलगायतका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरेका छन् ।

चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे जानकारी गराएको थियो । मुख्यमन्त्रीसँगको भेटमा चाइना रेल्वेअन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ्ग यु स्वे, चाइना रेल्वे इन्टरनेसनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्गसहितको टोली सहभागी थियो । चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ्ग यु स्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डिपिआर र निर्माणबारे प्रदेश सरकारसँग छलफल गरी निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिवहरु सहभागी थिए ।

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु