गृहपृष्ठ राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढंगले लैजानुपर्छ’
राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढंगले लैजानुपर्छ’
राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा र रुबेला खोप अभियानलाई सशक्त, प्रभावकारी र सफल बनाउनुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका छन् ।
परिवार कल्याण महाशाखाद्वारा बुधबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले सन् २०२३ सम्ममा मुलुकलाई दादुरा र रुबेलामुक्त बनाउन यो अभियानलाई सशक्त ढंगले लैजानुपर्ने सुझाव दिएको छ ।
आगामी फागुन १ देखि फागुन मसान्तसम्म चल्ने उक्त अभियानअन्तर्गत दादुर, रुबेला नौ महिनादेखि पाँच वर्षसम्मका र पोलियो थोपा जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई अनिवार्य खुवाउनुपर्ने अभियानको लक्ष्य छ । देशभरिमा पाँच वर्षमुनिका ३० लाख र जन्मेदेखि पाँच वर्षका करिब १५ लाख बालबालिका यो अभियानमा सहभागी हुनेछन् । यस प्रदेशमा करिब पाँच लाख बालबालिका हुन सक्ने प्रारम्भिक अनुमान स्वास्थ्य निर्देशनालय धनकुटाको छ ।
खोप अभियानसँगै यस वर्ष खोप प्रमाणपत्र वितरण गर्ने र यसमा खोपको अवस्था कस्तो छ बुझिने तथा आगामी कार्यक्रम एवं योजना बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
उक्त अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी दक्ष एवं तालिम प्राप्त हुनुपर्ने बताउँदै खोपसँगै स्वास्थ्य बिमाको कार्यक्रम लैजान सकियो भने आम नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
‘सरकारको लगानी एवं छात्रवृत्तिबाट चिकित्सक बनेका स्वास्थ्यकर्मी दुर्गम जान नमान्नु दुर्भाग्य हो,’ उनले भने, ‘कर्मचारीले क्षमता प्रयोग नगर्ने, आदेश र निर्देशनमा पर्खेर बस्ने प्रवृत्तिले काममा ढिलाइ भइरहेको हुँदा यस्तो प्रवृतिको अन्त्य हुनुपर्छ ।’
सामाजिक विकास समितिका सभापति सरिता थापाले यो अभियानलाई सफल बनाउन समितिका तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले सरकारको हरेक उद्देश्यलाई पूरा गर्न निर्देशनालय तत्पर रहेको बताए । बाल स्वास्थ्य तथा खोप सेवा महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको कारणले बिरामी र अपांगता घटाएको बताए । खोप अधिकृत भरतमणि भण्डारीले प्रारम्भिक खोप लिने र पछि नलिने गर्ना खोपमुक्त मुलुक बन्न नसकेको बताए । (रासस)
प्रकाशित समय १०:४८ बजे
















