गृहपृष्ठ युनिसेफले भन्यो : कोरोना भाइरसबारे गलत सूचना नफैलाऊ
युनिसेफले भन्यो : कोरोना भाइरसबारे गलत सूचना नफैलाऊ
विश्वव्यापी रूपमा नोबल कोरोनाभाइरसबारे संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)लाई उद्धृत गर्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना छरिन थालेपछि उसले विज्ञप्ति जारी गरी हल्लाका पछि नलाग्न भनेको छ ।
“हालै युनिसेफको स्रोत उल्लेख गर्दै बिभिन्न भाषामा ईन्टरनेटमा संसारभर फैलाईएको एक गलत सुचनामा आइसक्रिम तथा अन्य चिसो खानेकुरा नखाएमा भाइरसबाट जोगिन सकिने बताइएको थियो, जुन सर्वथा गलत हो,” युनिसेफद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य संकटका बेला गलत सूचनाको प्रवाहले डर र त्रास फैलिने ठूलो सम्भावना हुने, जसका कारण भाइरसको संक्रमणबाट धेरै मानिस असुरक्षित बन्न सक्ने खतरा युनिसेफले औंल्याएको छ ।
“त्यस्ता भ्रामक सूचना सिर्जना गर्नेहरूलाई हाम्रो एउटा सरल सुझाव छ: त्यसो गर्न बन्द गर्नुहोस् । आधिकारिक र विश्वसनीय संस्थाहरूको नाम अनधिकृत तवरले जोडेर गलत सूचना प्रवाह गर्नु एकदमै गलत र खतरनाक कदम हो,” युनिसेफको साझेदारी विभागकी उप कार्यकारी निर्देशक शार्लट पेट्री गर्निज्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफू र आफ्ना परिवारलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठन, युनिसेफ वा सरकारी निकाय र भरपर्दो स्वास्थ्यकर्मीहरू जस्ता विश्वसनीय र आधिकारिक स्रोतबाट सूचना लिन तथा गलत र अविश्वसनीय सूचना नफैलाउन युनिसेफले आग्रह गरेको छ ।
प्रकाशित समय १३:११ बजे

















