गृहपृष्ठ बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक केही आवश्यक पर्दैन

बच्चालाई ६ महिनासम्म आमाको दूधबाहेक केही आवश्यक पर्दैन

dr-bipin-newskarobar

 

विश्व स्तनपान सप्ताह नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसपटकको स्तनपान सप्ताहको नारा ‘स्तनपान जीवनको आधार’ हो । स्तनपानलाई बालबालिकाको आधारभूत मानवअधिकारको रुपमा लिने गरिन्छ । स्तनपान बालबालिकाको पहिलो अधिकार भएकाले यसबाट उनीहरुलाई वञ्चित गर्न हुँदैन । बच्चा जन्मिएपछि ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै कुराको आवश्यकता नै पर्दैन । ६ महिनासम्म बच्चालाई आवश्यक पर्ने सबै पोषक तत्व आमाको दूधबाट प्राप्त हुने भएकाले अन्य थप खाना आवश्यक नपर्ने भएको हो । तर, अचेल बच्चाका लागि वैकल्पिक दूध तथा पोषिलो आहाराको प्रयोग हुने गरेको छ । त्यो शिशुको स्वास्थ्यका लागि राम्रो होइन ।

 

स्तनपान
स्तनपानमा पनि बच्चा जन्मिएको ६ महिनासम्मको अवधिलाई प्रमुखताका साथ हेरिन्छ । त्यसपछिको समयमा भने बच्चालाई स्तनपानबाहेक अन्य पोषणसमेत आवश्यक पर्छ । ६ माहिनासम्मको स्तनपानको अवधिलाई ‘स्क्लुसिप ब्रेस्ट फिडिङ’ भनिन्छ । यो अवधिमा आमाहरुले अन्य कुरा नखुवाई आफ्नो दूधमात्र खुवाउँदा बच्चामा झाडापखाला, निमोनिया जस्ता रोगको सम्भावना कम हुन्छ ।

नेपालमा निमोनिया र झाडापखालाका कारण पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर बढ्दो छ । यो अवधिमा फर्मुला मिल्कको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले घातक हुन्छ । स्तनपानले आमा र बच्चाको सम्बन्धलाई अझ गहिरो बनाउन पनि मद्दत गर्छ ।

 

शिक्षित समाज र स्तनपान

अहिलेका आमाहरु बच्चालाई स्तनपान गराउँदा सौन्दर्य बिग्रिने सोच राख्छन् र दूध चुसाउन हिच्किचाउँछन् । जसले बच्चा र आमा दुबैलाई बेफाइदा गरिरहेको छ ।

स्तनपानको सन्दर्भमा शिक्षित र सहरी समाज हाम्रो ग्रामीण समाजभन्दा पछाडि छ । व्यस्त जीवनशैलीका कारण सहरी महिला ग्रामीण महिलाको तुलनामा कम स्तनपान गराउँछन् । मानिस जति शिक्षित र विकसित हुँदै गएको छ, त्यति नै स्तनपानबारे जानकारी तथा सूचना प्रवाह गर्नुपर्ने अवस्था छ ।

विश्वभर स्तनपानको फाइदा र आवश्यकताबारे जनचेतना जगाउनकै लागि करोडौं खर्च हुने गरेको छ । अहिलेका आमाहरु बच्चालाई स्तनपान गराउँदा सौन्दर्य बिग्रिने सोच राख्छन् र दूध चुसाउन हिच्किचाउँछन् । जसले बच्चा र आमा दुबैलाई बेफाइदा गरिरहेको छ । स्तनपान गर्दा आमालाई हुने फाइदाबारे जान्नुभन्दा आफ्नो सुन्दरताका विषयमा बढी सजग हुन खोज्दा महिलाहरु विभिन्न रोगको सिकार हुने गरेका छन् ।

 

स्तनपानको स्थान
मुख्यतः चेतना भए पनि व्यावहारिक समस्या पनि छ । काम गर्ने ठाउँमा स्तनपान गराउने कक्ष छैन । ६ महिनासम्म बिदा मिल्दैन । यात्रामा हिँडेको समयमा बच्चालाई दूध चुसाउन आवश्यक स्थानहरु छैनन् । जहाँ पायो, त्यहीँ स्तनपान गराउदा अश्लील र छाडा महिलाका रुपमा समाजले चित्रण गर्ने त्रास पनि छ । त्यसैले एउटी आमामा मात्र नभई आममानिस स्तापानको आवश्यकता र महत्वबारे सचेत हुन जरुरी छ ।

 

फर्मुला दूधको प्रयोग
कानुनी रुपमा नेपालमा फर्मुला दूधको प्रयोग वर्जित छ । खास अवस्था (जस्तैः बच्चा जन्मिएपछि आमाको मृत्य भएमा, आमा बिरामी भएर दूध चुनाउन नसक्ने अवस्था) मा मात्र डाक्टरहरुले यस्तो दूधको सिफारिस गर्न मिल्छ । नेपालमा सहरिया समाज र जागिरे आमाका कारण यस्तो दूधको प्रयोग बढ्दो छ । सुत्केरी आमालाई सरकारी जागिरे भएमा ९८ दिन बिदा दिइन्छ (तर, निजीमा त्यो सुविधासमेत छैन) । भारत, बंगलादेशलगायतका देशमा सुत्केरी महिलालाई ६ महिना नै बिदा दिइन्छ । नेपालमा सुत्केरीलाई कम बिदा दिइएका कारण पनि फर्मुला दूधको प्रयोग र प्रचलन बढ्दै गएको हो ।

 

फर्मुला दूधको असर
नेपालमा कानुनले वर्जित गरे पनि फर्मुला दूधको प्रयोग धेरै छ । फर्मूला दूधको प्रयोगमा होसियारी र सावधानी अपनाउन जरुरी छ । यो दूधले फाइदाभन्दा बेफाइदा बढी गर्छ । फर्मुला दूधको मात्रा र पानीको मात्र तथा यसलाई उमाल्ने र सेलाउने अनि कति समयसम्ममा खुवाइसक्ने भन्ने कुराको धेरै ख्याल गर्नुपर्छ, नत्र यसको बेफाइदा बढी हुन्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा अवरोध सिर्जना हुन्छ । बच्चामा विभिन्न किसिमका संक्रमण हुने तथा बौद्धिक विकासमा ठूलो असर पर्ने हुन्छ ।

 

धूमपान र मद्यपान
धूमपान र मद्यपान स्वास्थका लागि त्यत्तिकै हानिकारक हुन्छ । अझ गर्भवती महिला र सुत्केरीलाई यो घातक सावित हुन्छ । गर्भवती र सुत्केरी अवस्थामा महिलाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता असाध्यै कमजोर हुन्छ भने मांशपेसी पनि कोमल हुन्छ । जुन अवस्थामा रोगले सजिलै संक्रमण गर्न सक्छ । धूमपान र मद्यपानका कारण बच्चाको समेत शारीरिक तथा मानसिक विकासमा असर पर्छ । फलस्वरुप बच्चा रोगी हुने गर्छ ।

 

स्तनपानका फाइदा
स्तनपान गराउँदा बच्चाका साथै आमालाई पनि फाइदा हुन्छ । स्तनपान गर्दा बच्चाले पोषिलो दूध खान पाउँछ र स्वास्थ्य राम्रो हुन्छ । पोषिलो आहारामा बच्चा जति विकसित हुनुपर्ने हो, त्यो हुन्छ भने आमाहरुलाई पनि धेरै फाइदा हुन्छ । बच्चा जन्मनेबित्तिकै स्तनपान गराउँदा ल्याक्टोजिन हर्मोन उत्पादन हुन्छ र पाठेघर चाँडो खुम्चिन्छ र साल झर्छ । रक्तस्रावमा कमी हुन्छ । सुत्केरी अवस्थापछि हुने मनोरोगबाट बच्न पनि स्तनपानको ठूलो महत्व छ । साथै यसले महिलामा गर्भान्तरमा पनि सहयोग पुग्छ । गर्भान्तरका लागि महिलाले विभिन्न किसिमको औषधिको प्रयोग गरिरहनै पर्दैन । औषधिको प्रयोग स्वास्थ्यका लागि राम्रो होइन ।

(सञ्जय श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित समय १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु