गृहपृष्ठ विकट हिमाली जिल्लादेखि तराईका पिछडिएका ठाउँसम्म टेलिकम
विकट हिमाली जिल्लादेखि तराईका पिछडिएका ठाउँसम्म टेलिकम
नेपाल टेलिकमले हिमाली क्षेत्रका विकट बस्तीदेखि तराईका पिछडिएका जिल्लामा समेत प्राथमिकताका साथ सेवा विस्तार कार्य अघि बढाएको छ । कम्पनीले तराई/मधेस क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिएको हो ।
चालू आर्थिक वर्षमा मात्रै कम्पनीले तराईका १७ जिल्लामा २६० वटा बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरीलगायत जिल्लामा कम्पनीले ती बीटीएस सञ्चालनमा ल्याएको हो ।
तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए पनि दुर्गम र कम जनघनत्व भएका कतिपय बस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । बीटीएस थप गरेपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रुपले उपलब्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले टुजी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराएको छ ।
नेपाल टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजनाअन्तर्गत काठमाडौं उपत्यकाबाहेक विभिन्न प्रदेशमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी छ । कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा गण्डकी प्रदेशमा ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको छ ।
मुलुकभर गुणस्तरीय अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित चालू आर्थिक वर्षभित्र थप स्थानमा बीटीएस टावर निर्माण गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ तीव्र रुपमा कार्य भइरहेको कम्पनीले जनाएको छ । मुलुकका सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्ने कार्य पनि दु्रत गतिका साथ भइरहेको छ । अत्याधुनिक प्रविधि उपयोग गर्दै जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य टेलिकमको रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १७:०७ बजे

















