गृहपृष्ठ नेपाल टेलिकमको एफटीटीएच- जाडोमा न्यानो अफर

नेपाल टेलिकमको एफटीटीएच- जाडोमा न्यानो अफर

nepal-telecom-newskarobar

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच- जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच- जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर पुस १ गतेदेखि कार्यान्वयनमा आइसकेको छ ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने टेलिकमले जनाएको छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक ऋएभ् र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशनबमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी, थ्रीजी, फोरजी सबै नेटवर्कमा, २४सै घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।

एफटीटीएच- जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा १० हजार रुपैयाँभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य एक हजार) गरी कुल १३ हजार रुपैयाँभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको छ । निकट भविष्यमा कम्पनीले आइपीटिभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु