गृहपृष्ठ रुपन्देहीका सुविनले बनाए बोल्ने रोबोट

रुपन्देहीका सुविनले बनाए बोल्ने रोबोट

robort1-newskarobar आफुले बनाएको ‘रोबोट’ चलाउदै, सुविन विश्वकर्मा (सुनार) । तस्बिर : न्युज कारोबार

 

गाउँघरमा फालिएका कवाड बस्तु बटुलेर रुपन्देहीको कञ्चन गाउँपालिका –३ रुद्रपुरमा १९ वर्षिय सुविन विश्वकर्मा(सुनार)ले मानिस जस्तै बोल्ने रोबोट बनाएका छन् । ‘रोबोट’ नाम दिएका उनले गाउँघरमा खेर गएका, फालिएका विभिन्न काठको टुक्रा, प्लाष्टिक, तार, ब्याट्री र मोटरको प्रयोग गरि रोबोट बनाएका हुन् ।

उनले बनाएको रोबोटले आवाज अनुसार मुख खोल्ने, आँखा झिम्काउने साथै सामान उठाउने, राख्ने र त्यहाँ बनाइएको ढोका खोल्ने र बन्द गर्नेसमेत गर्दछ । आर्थिक अभावको कारण बनाइएको रोबोटमा सेन्सर प्रविधि जडान गर्न नसकेका विश्वकर्माले तारको सहायताले मोटरबाट यी सबै काम रोबोट लाई निर्देशन गर्दछन् । सोही अनुसार रोबोर्टले उक्त सबै काम गर्दछ ।

वि.सं. २०५६ सालमा जन्मीएका विश्वकर्माको स्वभाव सानैदेखि नै विभिन्न किसीमका आविस्कार गर्ने रहेको बताइएको छ । कक्षा ९ मा पढ्दा नै विभिन्न सामानहरु जुटाउन सुरु गरेका विश्वकर्मा एक बर्ष भारतमा मजदुरी गरेर फर्किएका हुन् । सरस्वती माध्यमिक विद्यालय बर्गदवा बाट २०७२ सालमा एसएलसी दिएका उनले आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न नसकेको बताउँछन् ।

उनी भन्छन् ‘उच्च शिक्षा पढ्ने धोको थियो, अहिले पनि छ तर के गर्ने आर्थिक अभावको कारण पढ्न सकिन ।’ उच्च शिक्षा पढ्न रकम जम्मा गर्न भारत गएका उनले त्यहाँ एक वर्ष मजदुरी गरेको बताए । मजदुरी गरेर ल्याएको रकमले घरमा आमा बुबा लाई पालनपोषणका साथै अन्य ऋण तिर्दा सकिएकाले उच्च शिक्षाको लागि भर्ना हुन नसेकेको उनले बताए । ‘केही रकम जोहो गरेर ल्याएको थिएँ, तर यहाँ ऋण तिर्दा तिर्दै सकियो, पढ्न पाइँन,’ उनले भने ।

कुनै दाताले सहयोग गरे इलेक्ट्रिोनिक्स, मेकानिकल ईन्जीनियरिङ्ग तर्फको बढाईमा लाग्ने उनको सोँच रहेको जानकारी दिए । विश्वकर्माले मोटरसाईकलको सेकेन्ड हेन्ड पाटपूर्जा जोरजाम पारेर साईकालको टावर बनाएर गुड्ने मोटरासाइकल समेत बनाएका छन् । उनले उक्त मोटरसाइकलमा एउटा इन्जिनबाहेका अन्य सबै सामानहरु आफैँ आरनमा पिटी जोडेर बनाएका छन् । करिब १ वर्षसम्म मिहिनेत लगाएर उक्त रोबोट र मोटरसाईकल बनाएको उनको भनाई छ ।

१३ जनको संयुक्त परिवार रहेको उनको परिवारमा ४ दाजुभई र ७ दिदीबहिनी छन् । बुबा हरिलाल सुनारले स्थानिय मजदुरी गर्दै आएका छन् । रोबोट बनाउने सुविन परिवारको साईलो छोरा हुन् । अन्य दाजुहरुले पनि आफ्नो लगावलाई सम्बोधन गर्न नसकेको उनको गुनासो रहेको छ ।

आफैँले बनाएको मोटरसाईकलमा एक बोतल पेट्रोल हालेर उनी दिनको एक पटक गाउमा फन्को मार्छन् । उनी भन्छन् ‘कुनै दाता भेटिए रोबोटलाई अझ परिमार्जन गरी सेन्सर जडान गरेर अत्याधुनिक बनाउन सक्छु ।’ सुविनका बुबा हरिलाल सुनार छोरोलाई आर्थिक अभावको कारण पढाउन र अगाडि बढाउन नसकेकामा चिन्तित छन् । उनी भन्छन्, ‘छोराको लगाव, इच्छा हुँदा हुँदै पनि आर्थिक अभावकै कारण माथि पढाउन सकिनँ, भारतबाट ल्याएको पैसा पनि ऋण तिरतार गर्दा सकियो, कसैले सहयोग गरेमा यस्तै काममा लगाउने गरी पढाउँने थिएँ ।’ उनीहरुको सबै परिबार अन्य व्याक्तिहरुको अधिँया लगाउने त्यहिँबाट आएको जीन्सी वा नगदबाट जीविका चलाउँदै आएका छन् ।

यता, रुपन्देहीको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफ्नो गाउँपालिकामा यस्तो आविस्कार गर्ने व्याक्ति जन्मनु खुसीको कुरा भएको भन्दै आविस्कारमा सहयोग गर्न आफू तत्पर रहेको बताए ।

 

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु