गृहपृष्ठ विश्वव्यापी आर्थिक वृद्धिका लागि चीन-अमेरिका सहकार्य आवश्यक : बाइडेन

विश्वव्यापी आर्थिक वृद्धिका लागि चीन-अमेरिका सहकार्य आवश्यक : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वव्यापी आर्थिक वृद्धिका लागि प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको एक महिना पुग्दै गर्दा जो बाइडेनले विश्व कूटनीतिसम्बन्धी पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको संकेत गरेका हुन् ।

बाइडेनको भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सन्देश प्रवाह गरेको छ । चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले अमेरिकाका लागि चीन ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन र अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

ट्रम्प प्रशासनको चीनविरोधी कडा नीतिका कारण दुई पक्षीय व्यापार व्यवसायको विकासमा समस्या आएका बेला नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको विश्लेषण गरिएको छ । अमेरिकीहरूले चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देशबीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पु‑याएको चीनको बुझाइ छ । ट्रम्पको कार्यकालमा चीन–अमेरिका सम्बन्ध निकै कठिन स्थितिबाट गुज्रिएको थियो ।

अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई पठाएको बधाई सन्देशमा पनि चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जितका आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकास अघि बढाउनसक्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु