गृहपृष्ठ अन्ततः थाइल्याण्ड गुफाबाट सबै किशोरको सकुशल उद्धार

अन्ततः थाइल्याण्ड गुफाबाट सबै किशोरको सकुशल उद्धार

अन्ततः उत्तरी थाईल्याण्डस्थित गुफामा फसेका सबै किशोरको शकुसल उद्धार गरिएको छ । बीबीसीका अनुसार बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेका १३ जनामध्ये उद्धार गर्न बाँकी पाँच सदस्यलाई पनि अभियानको तेस्रो दिन मंगलबार सकुशल बाहिर निकालिएको हो ।
थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ । आइतवार र सोमवार प्रत्येक दिन चार–चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो ।
उद्धार गरिएका किशोर लिएर एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसहरूले हर्षोल्लास गरेका थिए । ११ देखि १६ वर्ष उमेरका १२ किशोर र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए ।
नौ दिनको खोजीपछि गत हप्ता उनीहरूलाई गोताखोहरूले जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै फेला पारेका थिए । तर, मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो । तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भएको थियो । आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए ।
बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको बताइएको छ । अपरान्ह गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो । तर, त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन । थाई र विदेशीसमेत गरेर ९० भन्दा बढी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए । ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारो भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए । यो अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो । अभियानमा हजारौँ व्यक्तिहरूले सहयोग गरेका थिए ।

 

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु