गृहपृष्ठ गर्भवती पत्नीको अगाडि पतीको विभत्स हत्या

गर्भवती पत्नीको अगाडि पतीको विभत्स हत्या

केटाको ससुरा शंकाको घेरामा

भारतको तेलंगना राज्यको नालगोडा जिल्लामा ‘अनर किलिङ’को घटना बाहिर आएको छ । जिल्लाको मिरयालागुडा शहरस्थित एक अस्पतालको बाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकी गर्भवती पत्नी अमृतिकै अगाडि विभत्स हत्या गरिएको छ ।

आफ्नी पत्नीको डाक्टरी जाँच गराएपछि उनी अस्पताल बाहिर निस्किएका थिए, त्यति नै बेला पछाडिबाट एक व्यक्तिले धारिलो हतियारले प्रणयको गर्धनमा दुई पटक प्रहार गरे ।
प्रणय र अमृताले यही वर्षको ३१ जनावरीमा प्रेम विवाह गरेका थिए । प्रणयको परिवारले भने दुबैलाई स्वीकार गरेका थिए । तर, अमृताका परिवार निराश थिए ।

प्रणय दलित हुन् भने अमृता वैश्य समुदायकी हुन् । अमृताका बुवा घरजग्गा कारोबारी हुन् । प्रहरीले प्रणयको हत्यामा अमृताका बुवाको संलग्नता हुन सक्ने आशंका गरेको छ । किनकि, उनको चर्को असन्तुष्टिका बाबजुद अमृताले प्रणयसँग विवाह गरेकी थिइन् । प्रहरीले यस घटनामा अमृताका बुवा मारुती रावलाई अभियुक्त १ र उनका भाइ श्रवणलाई अभियुक्त २ बनाएर कार्बाही सुरु गरेको छ ।

प्रणय १० र अमृता ९ कक्षामा पढ्दा नै उनीहरुबीच मित्रता सुरु भएको थियो । दुबैले बीटेकसम्मको पढाइ सकेका छन् । मित्रता बदलिएर प्रेममा परिणत भएपछि आफूहरुको विवाह गराइदिन उनीहरुले आ–आफ्नो परिवारसँग आग्रह गरेका थिए । तर, अमृताका बुवा मारुतीले ठाडै अस्वीकार गरिदिए ।

अमृताका बुवाले नमानेपछि दुबैले हैदराबाद गएर आर्य समाजको विधिअनुसार विवाह गरे । यसपछि दुबै फर्किए र प्रणयको घरमा बस्न थाले । उता मारुती रावले प्रणयलाई छाडेर घर आउन छोरीलाई निकै प्रयास गरे, तर अमृताले अस्वीकार गरिन् ।

प्रणयका बुवा बाला स्वामीले केटीका बुवाले नै प्रणयको हत्या गर्ने योजना बनाएको आरोप लगाए । ‘विवाह पछि मारुती रावले प्रणयको हत्या गर्न चाहेका थिए,’ प्रणयका बुवा बालालाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘यो कुरा थाहा पाएर प्रणय पनि निकै निराश थियो ।’ उनीहरुले आफूहरु असुरक्षित भएको भन्दै प्रहरीलाई जानकारी पनि गराएका थिए । प्रहरीले मारुती रावलाई बोलाएर सोधपुछ गर्दा मारुतीले कसैलाई केही पनि नगर्ने बताएका थिए ।

शुक्रबार प्रणय आफ्नी आमासँग अमृतालाई लिएर मिरयालागुडाको निजी अस्पताल पुगेका थिए । मध्यान्ह १२ बजे अस्पतालभित्र पसे र साढे १ बजे जाँच सकिएपछि बाहिर आएका थिए । त्यही बेला एक व्यक्तिले उनको पिछा गरे र मौका छोपेर प्रणयको गर्धनमा धारिलो हतियारले दुई पटक प्रहार गरे । आक्रमणपछि घटनास्थलमै प्रणयको मृत्यु भयो ।

हतियार त्यहीँ छाडेर हत्यारा त्यहाँबाट भाग्न सफल भएको प्रहरीले बताएको छ । यो वारदात सीसीटीभी क्यामेरामा रेकर्ड भएको छ, जसको मद्दतबाट हत्याराको पहिचान भएको छ । तर, अहिलेसम्म गिरफ्तार भने गरिएको छैन । यो हत्या भाडाको हतियारबाट गराइएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन कार्यदल नै बनाएको छ । हत्याको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटनालाई लिएर मानिसहरुले आक्रोशित प्रतिक्रिया दिएका छन् ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु