गृहपृष्ठ पहिराबाट विस्थापितका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु

पहिराबाट विस्थापितका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु

सांकेतिक तस्बिर

पाँचथरको याङवरक गाउँपालिका–२ का पहिराबाट विस्थापित परिवारको स्थायी पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको छ ।

गत असार १० गते गएको पहिराबाट विस्थापित भएका याङवरक गाउँपालिका–२ चिङ्मा र सेपी बस्तीमा १७ परिवारका लागि एकीकृत बस्ती निर्माण गरिने भएको हो । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले संघीय र प्रदेश सरकारसँग समन्वय गरी एकीकृत बस्ती निर्माण कार्य चाँडै थालनी हुने जानकारी दिए ।

एकीकृत बस्ती निर्माणका लागि गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुंगेलको संयोजकत्वमा जग्गा खोजी समिति बनाइएको छ । उक्त समितिले खोजी गरी सिफारिस गरेकामध्ये उपयुक्त स्थानमा एकीकृत बस्ती निर्माण कार्य सुरु हुने गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए ।

जग्गा खोजी समितिले गाउँपालिका–१ को च्याङथापु बजारको ठीक माथि रहेको साँगाडाँडा वा वडा नं २ को नारायणी मावि बेतेनीको माथिल्लो पट्टि रहेको खाली स्थानमा एकीकृत बस्ती निर्माणका लागि जग्गा लिन पहल थालेको छ ।

समितिका संयोजक ढुंगेलले बतेनीमा उपयुक्त जग्गा भेटिएको र जग्गाधनीसँग कुराकानी भइरहेको जानकारी दिए । आधा जग्गा चलनचल्तीको मूल्यमा खरिद गर्ने र बाँकी जग्गा दान माग्ने प्रस्ताव अघि बढाएको वडाध्यक्ष ढुंगेलले जनाए । यहाँ बस्ती बसाउन सकियो भने चिङ्मामा जग्गा हुनेहरुलाई खेती लगाउनसमेत नजिक पर्ने उनको तर्क छ ।

गाउँपालिका अध्यक्ष घिमिरेले बतेनीमा १३ रोपनी जग्गा भेटिएको र सोही जग्गामा आकर्षक एकीकृत बस्ती निर्माणको प्रयत्न थालिएको बताए । “जग्गाको प्रबन्ध गरेर प्रदेश र संघीय सरकारलाई एकीकृत बस्ती निर्माणका लागि सहयोग गर्न आग्रह गर्छौं,” अध्यक्ष घिमिरेले भने, “चाँडै एकीकृत बस्ती निर्माण कार्य सुरु हुन्छ ।” पहिराबाट विस्थापित परिवारले संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणका लागि प्रजिअमार्फत पुनःस्थापनाको मागसमेत गरिसकेका छन् ।

पहिराका कारण विस्थापित साबिक फलैँचा गाविस चिङ्मा र सेपी बस्तीका १७ परिवारका ४१ जना अहिले अस्थायी टहरामा दैनिकी गुजारिरहेका छन् । गत असार १० गते राति गएको पहिराका कारण घरमा बस्न सक्ने अवस्था नभएपछि उनीहरु चिङ्मा बस्तीभन्दा माथि जंगलको बीचमा रहेको समथर ठाउँमा त्रिपालमुनि बसोबास गर्दै आएका छन् ।

जिल्लाकै दुर्गम मानिएको यो बस्तीमा जताततै पहिरो गएपछि स्थानीयले घर छोडेका थिए । विस्थापित भई टहरामा बस्दै आएका चन्द्रबहादुर राईले बस्तीमा फर्कन सक्ने अवस्था नरहेकाले तत्काल वैकल्पिक व्यवस्था गर्न आफूहरुले माग गर्दै आएको बताए ।

उक्त स्थानमा बसिरहन समस्या रहेको तर तत्कालै अन्यत्र सार्न सकिने अवस्थासमेत नहुँदा आफूहरुले स्थानीयवासीलाई आश्वस्त पार्नसमेत नसकेको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राईको भनाइ छ । “तत्कालै अन्यत्र सार्न सकिने अवस्था छैन । यहाँ रहिरहँदा झनै समस्या आउँछ । हिँउद लाग्दै छ । चिसो बढ्दै छ,” राईले भने, “त्रिपालमुनि बच्चा र वृद्धवृद्धालाई राख्दा अझै समस्या बढ्ला भन्ने पीर छ ।” (रासस)

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु