गृहपृष्ठ वडाध्यक्षलाई खबरै नगरी नगरपालिकाको सार्वजनिक सुनुवाइ
वडाध्यक्षलाई खबरै नगरी नगरपालिकाको सार्वजनिक सुनुवाइ
प्रशासकीय अधिकृत भन्छन्– सबै ठाउँ हेरेँ, यो त अचम्मको रहेछ
मन्थली नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । तर नगरपालिकाको सार्वजनिक सुनुवाइमा बहुमत वडा अध्यक्षको उपस्थित भने थिएन ।
मन्थली नगरपालिकामा १४ वडा छन् । कार्तिक २९ गते भएको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा ६ जना वडाध्यक्षको उपस्थिती भए पनि ८ वडाध्यक्षहरु उक्त सुनुवाइमा अनुपस्थित रहे ।
सबै वडाध्यक्षहरुलाई दुई दिन अगाडि नै उपस्थित हुन जानकारी गराएको मन्थलीका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले न्युज कारोबारलाई बताए । उनले जनताको प्रश्नको जवफसहित सार्वजनिक सुनुवाईमा उपस्थित हुन आफूले जानकारी गराएको भए पनि अध्यक्षहरु अनुपस्थित भएको दावी गरे । ‘मैले हिमाल, पहाड र तराई धेरै ठाउँमा हेरेँ,’ खड्काले न्युज कारोबारसँग भने, ‘तर, यहाँ अच्चमको रहेछ ।’
नगरपालिकाको मोवाइल एप्सबाट खबर गर्दा सबै अध्यक्ष ज्यूहरुले समयमै खबर नपाएको कारण नआएको होकी भन्ने भएकोले कार्यपालिकाको बठैकमा यस बारे छलफल गर्ने खड्काको भनाई थियो । उपस्थित नहुनेहरुमा २, ३, ४, ६, ७, ८, ९ र ११ गरी ८ वटा वडाका अध्यक्षहरु रहेका छन् ।
के भन्छन् नगर प्रमुख ?
‘हामीले सबैलाई खबर गरेका छौं । एक वर्षदेखि हामी यही प्रकृयाबाट बैठक सञ्चालन गर्दै आएका छौं,’ मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भने, ‘त्यो बेला सबै जना आउनु हुन्छ । तर अहिले अध्यक्षहरु सुचना भएन भनेर पन्छिने काम गरिहनु भएको छ ।’
आफ्नो वडामा भए गरेको कामको बारेमा जनताको जिज्ञासालाई समाधान गर्ने तयार भएर आउनुहोला भनेर खबर गरेका तर जनताको प्रश्नको सामना गर्न तयार नभएकाले नआएको हुनसक्ने बस्नेतले बताए । नगरपालिकले जनतालाई विकास निर्माणको बारेमा सूचाना दिने तथा जनताको चाहना र भवना अनुरुप काम गर्न सकिने मुख्य उद्देश्य नै चौमासिक सर्वाजनिक सुनुवाइ रहेको बस्नेतले बताए ।
वडा अध्यक्ष र नगर प्रमुखबीचको सम्बन्ध
स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनीधिहरु आफूले जितेको वडामा कार्यलय संचालन गरेर जनताको सेवा गर्नुपर्ने भए पनि अधिकांश वडा अध्यक्षहरु मन्थली बजारमा आफ्नै घरलाई कार्यलय बनाएर काम गर्दै आएका छन् । जनताले नगर प्रमुखलाई गुनासो गरेपछि नगरपालिकाले वडामा बस्न वडाध्यक्षहरुलाई आदेश दिएको थियो ।
तर वडा अध्यक्षहरुले आफुहरु पनि जनप्रतिनिधि भएको जवाफ दिएको बस्नेतको गुनासो रहदै आएको छ । वडा अध्यक्षहरुले भने बस्नेतले अनावश्यक दवाव दिएको पनि आरोप लगाउँदै आएका छन् ।
वडा अध्यक्षहरुको कारण बस्नेतसँग जनता रिसाएको र वडा अध्यक्षहरुले आफूलाई जनताकोबीचमा आलोचित र असफल बनाउने योजनामा रहेको उनको बुझाईको कारण गाँउमा कार्यलय सञ्चालन नगर्ने अध्यक्षहरुसँग त्यति राम्रो सम्बन्ध नभएको जानकारहरु बताउँछन् ।
के भन्छन् वडा अध्यक्ष ?
४ नम्बर वडाका अध्यक्ष विरेन्द बज्रचार्यले आफूलाई केही जानकारी नभएको कारण सर्वजनिक सुनुवाइ कार्यक्रमा नगएको बताए । ‘कार्यपालिकामा कामको समीक्षा भएको छैन, हामी आँफै प्रश्न गर्ने अवस्थामा छौं’, उनले भने, ‘जनताको बीचमा गएर हामीले प्रश्न गर्ने कि उत्तर दिने ?’
कोहीलाई अध्यक्षले फोन गरेर बोलाइएको छ । मलाई न चिठी छ, न फोन, न कार्यपालिकाको बैठकमा निर्यण नै भएको छ, अनि कसरी थाह हुन्छ र कार्यक्रममा जाउ ? उनको प्रश्न थियो ।
त्यस्तै २ नम्बर वडाका अध्यक्ष तरणी अधिकारीले पनि आफूलाई सार्वजनिक सुनुवाइको बारेमा केही थाहा नभएको कारण नगएको बताए । अन्य वडाका अध्यक्षहरुले पनि आफूहरुलाई जानकारी नभएको कारण उपस्थित हुन नसकेको बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको अबधिमा २३ करोड ९८ लाख ५३ हजार ५ सय ८३ रुपैयाको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको थियो ।
प्रकाशित समय १८:२५ बजे

















