गृहपृष्ठ धनुषाको यदुकुवामा सेनाको स्वास्थ्य शिविर, सयौं लाभान्वित

धनुषाको यदुकुवामा सेनाको स्वास्थ्य शिविर, सयौं लाभान्वित

sahidnagar_mun

धनुषाको विकट क्षेत्रका गरिब, असहाय, विपन्नहरुलाई मध्यनजर गर्दै शहीदनगर नगरपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । धनुषाको निकै पिछडिएको क्षेत्र मानिने ग्रामिण क्षेत्रमा गएर नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्य सेवा पाएका छन् ।

नेपाली सेनाको २७ नम्बर बाहीनी अड्डा गोरखनाथ गणले शहीदनगर नगरपालिका–३ स्थित यदुकुवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा नेपाली सेनासम्बन्धी फोटो प्रदर्शनीमा ४ सय ५० बिरामीले स्वास्थ्य चेकजाँच गराउनुको साथै निःशुल्क औषधी पाएका छन् ।

गोरखनाथ गणका गणपति भोला पाण्डेको नेतृत्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शहीदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, २६ बाहीनीका बाहीनीपति बाबुराम श्रेष्ठलगायत स्थानीय जनप्रतिनिधि, वुद्धिजिवीहरुको विशेष उपस्थिती थियो । सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा अर्थोपेडिक, स्त्री तथा प्रशुती रोग, प्रेसर, सुगर तथा रुघाखोकीलगायतका बिरामीलाई चेकजाँच गर्दै औषधि समेत वितरण गरिएको गणपति भोला पाण्डेले जानकारी दिए ।

नेपाली सेनाले गरिब, विपन्नहरुलाई मध्यनजर गर्दै आफ्नो नगरमा निःशुल्क स्वास्थ्य शिविर तथा सेनासम्बन्धी फोटो प्रदशर्नी गरेर सेना साँच्चिकै देशको गौरब र शान रहनुको साथै दिन दुःखीका सहाराको पात्र रहेको महसुस गराएको प्रमुख उदय बरवरियाले बताए । ‘ग्रामीण क्षेत्रमा सेनाले आयोजना गरेको मानवीय कार्यप्रति सम्पूर्ण जनताको तर्फबाट आभार प्रकट गर्दछु,’ उनले भने ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु