गृहपृष्ठ डलर मूल्य बढ्दा रेमिट्यान्समा उच्च वृद्धि

डलर मूल्य बढ्दा रेमिट्यान्समा उच्च वृद्धि

चार महिनामा ३८ प्रतिशतले बढ्यो व्यापार घाटा

चालु आर्थिक बर्षको ४ महिनामा वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि डलर मूल्य बढ्दा रेमिट्यान्समा उच्च वृद्धि भएको छ । २०७४–७५ मा ८.६ प्रतिशतले बढेको रेमिट्यान्स चालु आवको पहिलो चार महिनामा ३६.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक बर्षको पहिलो ४ महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । समिक्षा अबधिमा वैदेशिक रोजगारीमा जाने कामदारमा उच्च गिरावट आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो ।

रेमिट्यान्स बढे पनि चालू आर्थिक वर्षको चार महिनामा व्यापार घाटा उच्च रुपमा बढेको छ । यस्तो घाटा झण्डै ३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा २६.७ प्रतिशतले बढेको वस्तु व्यापार घाटा चालु आर्थिक वर्षमा ३७.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । व्यापार घाटा बढेका कारण चालु खाता ८८ अर्ब ६४ करोड रुपैयाँ घाटामा छ । यस्तै, शोधनान्तर घाटा ६० अर्बको हाराहारीमा पुगेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको विशेष समितिले तयार पारेको प्रतिवेदनअनुसार विदेशी  विनिमय  सञ्चिति ७.९ महिनाको आयात धान्ने अवस्थामा मात्रै छ । सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृदि हासिल गर्ने लक्ष्य लिएको छ र तर, प्रतिवेदनले ७ प्रतिशतभन्दा केही बढी मात्र हुने देखाएको छ । उत्पादनको मूल्यमा आव २०७३–७४ मा ७.४ प्रतिशत र गत आवमा ६.३५ आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ७५ भन्दा बढी मात्र हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तार उल्लेख्य रहेको प्रतिवेदनले देखाएको छ । चालु आवको पहिलो चार महिनामा २ खर्ब ३ अर्ब ८८ करोड थप कर्जा  विस्तार  भएको  र १ खर्ब १ अर्ब ६२ करोड मात्र निक्षेप संकलन भएको छ ।

क्षेत्रगत रुपमा सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारतर्फ लगानी भएको देखिन्छ । कर्जाको किसिमका आधारमा सबैभन्दा बढी कर्जा चालु पुँजी र व्यक्तिगत आवासतर्फ प्रवाह भएको छ । मंसिर २६ गतेसम्ममा ६८७ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु