गृहपृष्ठ विराटनगर महानगरको छोरी पढाउ अभियान

विराटनगर महानगरको छोरी पढाउ अभियान

दम्पतिका छोरीका नाममा २५ हजार

biratnagarmun_newskarobar

विराटनगर महानगरपालिकाले दोश्रो सन्तान पनि छोरी हुने चार दम्पतिका छोरीको नाममा २५/२५ हजार रुपैयाँ बैंकमा बचत गरिदिएको छ । महानगरको उपप्रमुख योजना अन्तर्गत नगरभित्रका पहिलो र दोश्रो सन्तान पनि छोरी भएमा दोश्रो सन्तान छोरीको पढाई खर्चका लागि उनको नाममा महानगरले २५ हजार रुपैयाँ बैंकमा रकम बचत गरिदिएको हो ।

विराटनगर महानगरले ग्लोबल आइएमी बैकमा २५ हजार रुपैयाँ बचत गरिदिएको हो । कार्यक्रममा विराटनगर-५ की सुनिताकुमारी ठाकुर, सम्झना तामाङ, तारादेवी पोख्रेल र सेलीमाया मगरको दोश्रो सन्तान छोरीको नाममा आमा संरक्षक रहने गरी पढाई खर्चका लागि महानगरले बैकमा सो रकम बचत गरिदिएको हो ।

महानगरले दोश्रो सन्तान छोरीको नाममा पढाई खर्चका लागि उनीहरुको नाममा बैंकमा २५ हजार रुपैयाँ बचत गरिदिने कार्यक्रम यसै आर्थिक वर्षबाट समावेश गरेको थियो । महानगरले अघिल्लो आर्थिक वर्ष छोरी बचाउन अभियान चलाएकोमा यसै वर्षदेखि छोरी पढाउ अभियान पनि त्यसै कार्यक्रममा समावेश गरेको हो ।

महानगरमा छोरी बचाउ अभियानलाई भने निरन्तरता दिँदै आएको छ । यो वर्ष पनि महानगरले निश्चत दायरा पूरा गर्ने २२ दम्पतीलाई नगद तीन हजारसहित सोमबार सम्मान गरेको छ । महानगरले छोरी बचाउ अभियानअन्तर्गत दम्पतिलाई नगदसहित सम्मान गरेको हो ।

महानगरले विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको र अस्पतालमा प्रसुति गराउने आमाहरुलाई छोरी बचाउ अभियान स्वरुप महानगरले त्यस्ता दम्पतिलाई प्रोत्साहन गर्ने अभियान ल्याएको थियो ।

महानगरले छोरीप्रति सम्मान जनाउन पहिलो पल्ट यस्ता कार्यक्रम महानगरभित्र अभियानका रुपमा ल्याएको हो । महानगरले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको, नियमित गर्भ जाँच गराउने, पहिलो सन्तान छोरी जन्माउने र अस्पतालमै सन्तान जन्माउने आमाहरुलाई छोरी बचाउ अभियानमार्फत त्यस्ता नगर क्षेत्रका आमाहरुलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम थालेको हो ।

जसका लागि त्यस्ता दम्पतीलाई निवेदन दिन महानगरले आग्रह गरेको छ । सोही अनुरुप महानगरमा परेको निवेदनमा दम्पतिलाई नगद तीन हजार रुपैयाँसहित मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरेका हुन ।

कार्यक्रममा मेयर पराजुलीले तराईमा छोरीप्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाउ अभियान साथै छोरी पढाउ अभियान सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले महानगरको यो अभियानलले समाजमा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा केही भए पनि परिर्वतन ल्याउन सकिनेमा आशावादी रहेको बताए ।

गएको २३ साउन बसेको महानगरको नगरपरिषदले साउन यता नगर क्षेत्रका पहिलो सन्तान छोरी हुने र महानगरले दिएको निश्चत मापदण्ड पूरा गरेका २ सय दम्पतिलाई छोरी बचाऔं अभियान मार्फत नगदसहित सम्मान गर्ने कार्यक्रम समावेश गरेको थियो ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु