गृहपृष्ठ महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) र राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले पनि पालिकाबासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग संख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन् ।

‘कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ,’ उनले भनिन्, ‘राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’ (रासस)

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु