गृहपृष्ठ नेपाल बंगलादेश बैँकको नाफामा १६ प्रतिशत वृद्धि
नेपाल बंगलादेश बैँकको नाफामा १६ प्रतिशत वृद्धि
नेपाल बंगलादेश बैँकले ६ महिनामा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैँकले मंगलबार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा साढे १६ प्रतिशत बढी हो ।
गत वर्षको साउनदेखि पुस मसान्तसम्म बैँकले ८० करोड ७७ लाख नाफा गरेको थियो । बैँकको खुद ब्याज आम्दानी भने एक अर्ब ३५ करोडबाट घटेर एक अर्ब २४ करोडमा आएको छ । तर, डुबेको ऋणमध्ये १६ करोड १३ लाख रुपैयाँ उठाएका कारण खुद नाफामा सुधार भएको हो ।
कर्जा प्रवाह तथा निक्षेप संकलन दुवैमा बैँक कमजोर देखिएको छ । बैँकले एक वर्षमा ५९ अर्ब १० करोड कर्जा प्रवाहलाई बढाएर ६० अर्ब ९२ करोड रुपैयाँमात्र पुर्याएको छ। निक्षेप ६६ अर्ब ४३ करोडबाट बढेर ७० अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
निक्षेपमा घटेको ब्याजका कारण आधार दर कम भएको छ । बैँकले ९.९२ प्रतिशतको आधार दरलाई ८ प्रतिशतमा झारेको छ । स्प्रेड दर ४.८ प्रतिशतबाट ४.१९ मा ल्याएको छ ।
चुक्ता पुँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ छ । पछिल्लो ६ महिनामा बैँकको जगेडा कोष १८.९ प्रतिशत बढेको हो ।
खुद नाफा बढेसँगै बैँकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । गत वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १९.२ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर २२.१६ रुपैयाँ पुगेको छ। त्यसैगरी, बैँकको प्रतिसेयर नेटवर्थ १६५.५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.७३ गुणा छ ।
प्रकाशित समय ११:०३ बजे

















