गृहपृष्ठ जसलाई थाहा छैन के हो श्रमिक महिला दिवस
जसलाई थाहा छैन के हो श्रमिक महिला दिवस
खोलाको किनारमा करिब सय भन्दा बढी घरधुरी छन् । बिहानदेखि बेलुकासम्म खोला किनारको बालुवा र पानी उनीहरुको दिनचर्या हो । खोलामा बगिरहेको पानी र किनाराका बालुवा उनीहरूका ‘दोस्ती’ हुन् । बस्ती भन्दा करिब आधा किलोमिटरमाथि रत्न राजमार्ग छ । जहाँ गाडीहरू गुड्छन् । उनीहरूले राजमार्गमा चल्ने गाडी र खोलामा बग्ने पानीको आवाजसँगै आफ्नो दैनिकी सुरू गर्छन् । र, यीनै दुई आवाजको बीचमा रात गुजार्छन् ।
हरेक वर्ष ८ मार्चका दिन अन्तर्रराष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नेपाललगायत विश्वभर श्रमिक महिलाको पक्षमा भन्दै निकै तामझामका साथ यो दिवस मनाउने गरिन्छ । तर, उनीहरूलाई थाहा छैन के हो श्रमिक महिला दिवस ?
पानी बत्ती तथा सञ्चारको सुविधाबाट समेत बञ्चित कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलाका वादी बस्तीका महिलालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा जानकारी नै छैन ।
बिहिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश तथा वातावरणीय कृषि तथा विकास केन्द्र केड नेपालको संयुक्त आयोजनामा गरिएको अन्तर्क्रियामा त्यहाँका महिलाहरुले आफुहरुलाई दिवसको बारेमा थाहा नभएको बताए ।
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गरिएको अन्तर्क्रियामा पार्वती वादीले यो दिवस किन र कसले मनाउने भन्ने बारेमा आफुहरुलाई थाहा नभएको बताईन् ।
‘हाम्रो पहुँचमा न रेडियो छ न पत्रिका ! न त कसैले यो दिवसको अवसरमा कहिल्यै कार्यक्रमको आयोजना गरेका थिए,’ पार्वती वादीले भनिन्, ‘हामीलाई यस्ता दिवसको बारेमा केही जानकारी छैन ।’
कार्यक्रममा रामकुमारी वादिले पनि दिवसको बारेमा आफूलाई जानकारी नभएको बताइन् । आफ्नो दिनचर्या खोलाको बालुवासँग बित्ने भएकोले पनि यस्ता दिवसका बारेमा जानकारी नभएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अधिकांश वादी समुदायका महिलाहरुले श्रमिक महिला दिवस के हो भन्ने बारेमा नै थाहा नपाएको गुनासो गरेका थिए ।
उक्त कार्यक्रममा केड नेपालकी वकालत अधिकृत लक्ष्मी चन्दले महिलाहरुको पाठेघर खस्ने समस्याका बारेमा समेत जानकारी दिएकी थिइन् । कार्यक्रममा करिब ७० जना वादी महिलाहरुको सहभागीता थियो । कार्यक्रममा सहभागी वादी समुदायका महिलाहरुले आफूहरुलाई राज्यले आधारभूत आवश्यकताबाटै बञ्चित गरेको गुनासो गरे ।
प्रकाशित समय १९:३० बजे
















