गृहपृष्ठ मकालु एयरको विमान हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु
मकालु एयरको विमान हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु
बाँके । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’
विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन ए यू जे सम्पर्कविहीन जहाज बाजुरा जिल्लाको नदी किनारमा फेला परेको सुर्खेत विमानस्थलले दिएको जानकारी अनुसार त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको भन्ने सूचना गलत रहेको बताए ।
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज ५५ मिनेटमा सिमकोटमा ल्याण्ड गर्नुपर्ने थियो । जहाज के कारणले सम्पर्कविहीन भएको भन्ने खुलेको छैन । नाइन एन ए जे यु कलसाइन रहेको विमान १ हजार १७० किलो सामान बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो । सम्पर्कबिहीन मकालु एयरको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुनखर्कमा फेला परेको छ ।
उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । घटनास्थलमा पुगेको प्रहरी टोली एक जनाको शव फेला परेको जानकारी दिएको छ । स्थानीय पत्रकार राजन रावतका अनुसार शवको पहिचान भइसकेको छैन । उनले भने, ‘जहाजमा रहेका चालकदलका सदस्यमध्ये कसको शव हो भन्ने पहिचान भएको छैन । बाँकी एकजनाको खोजी भइरहेको छ ।’
प्रकाशित समय १०:०६ बजे