गृहपृष्ठ गाइको शल्यक्रिया गरि मृत बाछो निकालियो

गाइको शल्यक्रिया गरि मृत बाछो निकालियो

काभ्रे- राम्रो जातको गाईको बाच्छोलाई छोराछोरीजस्तै हुर्काएका पनौती–१ का रेवती सापकोटा औधीखुसी थिए । राम्रै पालनपोषण गरेर हुर्काएको उनको रातो माली बाच्छो सुत्केरी हुँदै थियो । मंगलवार एक्कासी गाई छटपटिन थाल्यो । उनले माली बाच्छोलाई सुत्केरी व्यथाले च्यापेको बुझेर तातो खोले खुवाए । पहिलो ब्यत सुत्केरी हुने सोचेर सुरुमा सामान्य नै ठानेका उनले माली बाँच्छो तीन घन्टासम्म छटपटिएपछि गाँउ नजिकैको पशु प्राविधिक कुमार सापकोटासँग सल्लाह लिन पुगे ।
२० बर्षे लामो पशु प्राविधिक क्षेत्रमा अनुभव भएका कुमार सापकोटाले माली बाच्छोलाई नजिकैवाट नियाले । एक पटक पाठेघरमा हातहाले । उनले निस्कर्ष निकाले माली बाँच्छोको पाठेघर पुरै वटारिएको छ, राम्रो खालको पशु चिकित्सकको उपस्थितीमा गाईको पाठेघरको शल्यक्रिया गर्नुपर्छ ।
तत्कालै योजना बन्यो र आईपुगे पशु चिकित्सक उमेश मण्डल । भक्तपुरदेखि रेवती सापकोटाको माली बाँच्छो बचाउन पुगेका मण्डलको टिमले ६ घन्टाको अथक प्रयासपछि गाईको पाठेघरवाट मृत बाच्छो निकाले ।
रयालेमा ब्याउन नसकेको गाईको शल्यक्रिया गरेको घटना पहिलो थियो । ६ घन्टापछि लगभग मर्ने अवस्थामा पुगेको गाईको उपचार भएपछि पशु प्राविधिक कुमार सापकोटाले नयाँ अनुभव हासिल गरेको सुनाए । उनले भने, स्थानीय सरकारले दक्षप्राविधिक हरेक स्थानीय निकायमा राखिदिए किसानको पशु धन त्यसै खेर नजाने बताए ।
शल्यक्रियामा संलग्न चिकित्सक मण्डलले किसानहरुको पशु धनको सुरक्षा गर्नु आफ्नो प्रमुख दायित्व रहेकाले आफूले सोहीअनुसार काम गरेको प्रतिकृया दिए ।
शल्यक्रिया राम्रो भयो कृषक रेवती सापकोटाले पहिलो बेतको गाईले दुध देला कि नदेला भन्ने चिन्ता थियो । नभन्दै गाईले बियौतीमै एक पाथी दुध दिएपछि सापकोटा अचम्मित भए । ‘भुडीमा टाँका नै टाँका छन्, अहिले नियमित रुपमा दुध दिईरहेको छ’ उनले भने ‘छोराछोरीको जस्तै माया गरेर हुर्काएको गाई बाँच्यो यसैमा म खुसी छु ।’
रयालेका पशुपालक मंगलवारवाट नयाँ कुरा सिकेको बताएका छन् । स्थानीय कृषक ऋषि सापकोटाले समयमै पशुहरुको उपचार गराउन सके किसानले ठूलो क्षती व्यहोर्नु नपर्ने अनुभव हासिल गरेको बताए ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु