गृहपृष्ठ सरकारकाे नीति तथा कार्यक्रमले प्रविधिलार्इ समेटेकाेमा क्यान महासंद्वारा स्वागत

सरकारकाे नीति तथा कार्यक्रमले प्रविधिलार्इ समेटेकाेमा क्यान महासंद्वारा स्वागत

सूचना प्रविधिको पहुँच र प्रयोगलाई बृहत्तर बनाउने गरी सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) स्वागत गरेकाे छ । सरकारले सूचना प्रविधिसमेतलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरी नीति तथा कार्यक्रममा समावेश गरेकोमा क्यान महासंघले आभार व्यक्त गरेकाे छ ।

सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने क्यानले जनाएकाे छ । त्यस्तै, सार्वजनिक प्रशासन, व्यावसायिक क्षेत्र, सार्वजनिक एवं निजी सेवा, अभिलेख, तथ्यांक र वित्तीय कारोबारहरुलाई विद्युतीय सूचना प्रविधिमा आधारित बनाउने सरकारी नीतिले बहुआयामिक लाभ मिल्ने उसले जनाएकाे छ ।

क्यान महासंघका अध्यक्ष हेमन्त चाैरासियाले जारी गरेकाे विज्ञप्तीमा डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीति सहयाेगी बन्ने उल्लेख छ । सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र गुनासा तथा सुझावहरु सम्बन्धित निकाय र पदाधिकारीसमक्ष सोझै पठाउन सक्ने व्यवस्थाका लागि प्रयोगमा ल्याउन लागिएको ‘नागरिक अधिकार मोबाइल एप्स’ ले सूचना प्रविधिको प्रयोगलाई बृहत बनाउन सहयोग पुग्ने क्यानले जनाएकाे छ । सबै नेपालीलाई बायोमेट्रिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा आधुनिक सञ्चार प्रविधिको प्रयोगका साथै सामुदायिक विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उच्च गतिको इन्टरनेट सुविधाले सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानमा टेवा पुग्ने उसले विश्वास लिएकाे छ ।

सबै प्रकारका अनुगमनमा सूचना प्रविधिको प्रयोग र सेवाप्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गर्ने सरकारी नीतिलाई क्यान महासंघले सकारात्मक रुपमा लिएको छ । सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइएको सरकारी नीतिको कार्यान्वयन पक्ष पनि उत्तिकै सबल रहने उसले अपेक्षा गरेकाे छ । साथै क्यान महासंघबाट यसको कार्यान्वयनमा सहयोग र सहकार्यसमेत रहने प्रतिबद्धता गरिएकाे छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु