गृहपृष्ठ वैदेशिक रोजगारी छाडेर माछा पालन व्यवसाय
वैदेशिक रोजगारी छाडेर माछा पालन व्यवसाय
लमजुङ- अर्खलेगाउँका जीतबहादुर गुरुङ बैदेसिक रोजगारी छाडेर माछापालन ब्यवसायमा लागेका छन । ५ वर्ष साउदीको गर्मीमा काम गरेर गाउँ फर्किए पछि उनले ट्राउट माछा पालन ब्यवसाय सुर गरेका हुन ।
उनले गाउँमै व्यवसायिक रुपमा ट्राउट माछा पालेर वार्षिक केहीलाख आम्दानी गर्न थालिसकेका छन् । ४ वर्षदेखि माछा पालन थालेका गुरुङले आफ्नै पोखरीबाट माछा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले पहिलो वर्ष झण्डै १६ हजार भुरा हालेकोमा प्राविधिक तालमेल र ज्ञानको कमीले गर्दा करिब ५० प्रतिशत भुरा मरे र वाँकी ८ सय भुरा मात्रै हुर्किएको बताए ।
१ सय ५० ग्रामदेखि ४ सय ग्रामसम्म तौल हुने ट्राउटको प्रति भुराको तौल औसतमा २ सय ५० ग्राम पर्न आउने उनको भनाई छ । पहिलो चरणमा करिब २ हजार किलोबाट करिब २४ लाख वरावरको कारोबार गर्न सफल भएको गुरुङले बताए । प्रति किलो १ हजार २ सय रुपैयाँका दरले बिक्री गर्दा पहिलो चरणमा उनले २४ लाख रुपैयाँ वरावरको कारोवार गरेका थिए । बर्षेनी माछाका भुरा थप्दै बढि बढि आम्दानी गर्दै आएका छन् ।
दोस्रो चरणमा ४८ लाख रुपैयको कारोबार गरेको उनले बताए । त्यस्तै गत बर्ष ३७ लाख रुपैयाको कारोवार गरे । यो बर्ष करिब २५ हजार भुरा माछा रहेको उनले बताए । उनका अनुसार उक्त माछाको प्रतिकिलो १३ सय रुपैया रहेको छ । बेंसीसहर–मनाङ सडकखण्ड स्थित मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ अर्खलेबेसीमा उनले लमजुङ रेन्बो ट्राउट माछा फर्म सञ्चालन गरेका छन् । माछाका लागि ७ वटा माछा खेल्ने स–साना पोखरी, चिसो र सफा पानी व्यवस्थापनका लागि २ वटा पानी संकलन पोखरी, पाईपलाईन, विक्री केन्द्र लगायतका संरचना निर्माण र माछाको भुरा खरिदसम्म गर्दा झण्डै ३५ लाख रुपैयाँ लगानी भएको संचालक गुरुङको भनाई छ । जितबहादुरले चिसो हावापानीमा ट्राउट माछा राम्रो सँग हुर्किने भएकाले व्यवसायिक रुपमा माछापालन गर्न सकिने बताए ।
गाउँघर, परिवार र आफन्तलाई सम्झिदै मरुभूमिमा पसिना बगाउँदाको पीडा खेपेका गुरुङले आफ्नो परिवारको साथमै रहेर पनि राम्रो आम्दानी गर्न थालेपछि उनी निकै हौसिएका छन् । उनको फर्ममा ताजा माछा खरिद गर्नुका साथै लमजुङ–मनाङ आवत जावत गर्ने आन्तरिक तथा वाह्य पर्यटक देखि व्यापारी, व्यवसायी, शिक्षक, कर्मचारीसम्मले खाजाको रुपमा पनि माछा खाने भएकाले माग धान्नै नसकेको माछापालक जितबाहादुरी श्रीमती चन्द्रकुमारी बताउँछिन् । माछा व्यवसाय सँगै खाजा र खाना खुवाउने व्यवस्था मिलाएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाई छ ।
ट्राउट माछा व्यवसायमा लगानीको ६० प्रतिशत सम्म फाईदा हुने भएकाले कृषकलाई राम्रो आम्दानी हुने अर्का ट्राउट व्यवसायी लोकेन्द्र गुरुङ बताउँछन् । माछाको दाना महँगो हुनु, ढुवानी समस्या, हरवखत शुद्ध र सफा पानी बहने उचित व्यवस्था मिलाउनु पर्ने जस्ता समस्या यो व्यवसायमा रहेको उनले बताए । ट्राउट माछाको बजार निकै राम्रो भएकोले पर्यटकीय क्षेत्रमा यो व्यवसाय सञ्चालन गरिएको र आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाईमा ट्राउट पर्ने भएकाले यसको माग निकै उच्च रहेको बताइएको छ ।
प्रकाशित समय १०:१३ बजे

















